मकवानपुरगढी काँग्रेसको सभापतिमा गोपी अधिकारीको उम्मेदवारी घोषणा

बाइलाइन नेपाल
२३ भाद्र २०७८, बुधबार ०८:५६

हेटौंडा । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २७ गते हुने अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा काँगेसको नयाँ नेतृत्व चयन हुँदैछ ।

भदौं २० गते भएको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका अधिकारीले गढी गाउँपालिकाको पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । तत्कालिन गढी गाविस हुँदा दुई कार्यकाल सभापति भइसकेका अधिकारीले आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन पुनः नेतृत्वमा दाबी गरेको बताएका छन् ।

मकवानपुरगढीमा नेपाली काँग्रेसलाई आजको स्थानसम्म ल्याउन आफुले पसिना बगाएको उल्लेख गर्दै अधिकारीले भएका काँग्रेसका सदस्यको संरक्षण गर्दै बाहिर रहेकालाई पार्टीमा सामेल गराउने र पार्टीलाई चलायमान बनाउन एकपटक फेरि सभापतिमा उम्मेदवारी दिने उल्लेख गरे । तरुण दलदेखि पार्टीको सभापति, क्षेत्रिय उपसभापति हुँदै जिल्ला सदस्यसम्म पार्टीले दिएको जिम्मेवारी र भुमिकालाई कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै अधिकारीले गढी गाउँपालिकामा काँग्रेसको नयाँ नेतृत्व सहमतिबाट चयन हुनुपर्ने अडान राखेका छन् ।

गुटउपगुटका कारण काँग्रेसमा समस्या बढेको उल्लेख गर्दै अधिकारीले पार्टीलाई एकढिक्का बनाएर पहिलेकै अवस्थामा पुर्याउनु आवश्यक रहेको बताए । सहमतिबाट नेतृत्व चयन भएमात्र काँग्रेसले देखेको सपनालाई पुरा गर्न सक्ने उनको भनाई छ । पार्टीलाई गुट,उपगुटको चङ्गुलबाट मुक्त बनाएर सिंगो काँग्रेस बनाउन आफ्नो उम्मेदवारी कायम रहने उनको भनाई छ ।

एकपटक पार्टीको जिम्मेवारी लिएर स्थानीय तहको निर्वाचनमा गढीगाउँपालिकामा काँग्रेसका उम्मेदवारलाई स्थापित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको अधिकारीले बताए । पार्टीमा योगदान पुर्याएकाहरुलाई पाखा लगाउने काम कुनै तहबाट भएमा काँग्रेसले नै घाटा व्यर्होनु पर्ने भएकाले विगतबाट पाठ सिक्दै सबैलाई पार्टीमा योगदान, निष्ठा र कुशलताको आधारमा भुमिका दिन अधिकारीले पार्टी जिल्ला नेतृत्व सँग आग्रह गरेका छन् । सहकार्य, सहमति र एकता विना काँग्रेसले जित हात पार्न सक्दैन भन्ने कुरालाई कसैले पनि बिर्सन नहुने उनले बताए ।

काँग्रेस जिल्लाको नेतृत्वले सबैको योगदान र भुमिकालाई आत्मसाथ गर्दै निर्णय गरेमा पार्टी एकजुट हुने र हरेक निर्वाचनमा सफलता हात लाग्ने अधिकारीको भनाइ छ । साथै मकवानपुर गढीका सबै वडामा विजयी भएका वडा सभापतिसहित सदस्य तथा नगरको वडा कमिटी र क्षेत्रिय प्रतिनिधिलाई अधिकारीले बधाई व्यक्त गर्दै आफ्नो उम्मेदवारीमा साथ र समर्थका लागि आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*