झरनाको गजल प्रतियोगितामा सुमिना, रिदम र वसन्त उत्कृष्ट

बाइलाइन नेपाल
३० श्रावण २०७८, शनिबार १६:३८

बकैया । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको २६८ औँ साहित्य शृङ्खलाको अवसरमा आज बकैया गाउँपालिकास्तरीय अन्तरविद्यालय गजल प्रतियोगिता सम्पन्न भएको छ ।

बकैया गाउँपालिकाभित्र अध्ययनरत १२ जना बालबालिकाहरूका बीच सम्पन्न गजल प्रगियोगितामा बुद्ध मावि, हात्तिसुँडेका सुमिना दाहाल, कालिदेवी मावि, शिखरपुरका रिदम भोम्जन, महेन्द्र मावि, छतिवनका वसन्त गौतम उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।

प्रतियोगिताको निर्णायकमा संस्थाका सचिव मसान उपासक र संस्थाका कोषाध्यक्ष कृष्ण घतानी रहेका थिए ।

कार्यक्रम झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटा तथा विशिष्ट अतिथि रमेशमोहन अधिकारी तथा अतिथि जनार्दन खनालले यस किसिमका प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको सिर्जनशीलता विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने धारणा राख्दै झसापले कोभिडको विषम परिस्थितिमा समेत विधागत साप्ताहिक प्रशिक्षण तथा मासिक कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा झरना साहित्यिक परिवारका सल्लाहकार रमेशमोहन अधिकारी, झरना पत्रिकाका सल्लाहकार जर्नादन खनाल, झरना–बकैया बालसाहित्य परिचालन समितिकी सचिव स्वस्तिका दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*