अब सीएको परीक्षा हेटौंडा क्याम्पसमै दिन पाइने

बाइलाइन नेपाल
२७ श्रावण २०७८, बुधबार १७:२९

हेटौंडा । चार्टर एकाउन्टेन (सीए) अध्ययनरत् विद्यार्थीले अब हेटौंडामै परीक्षा दिन पाउने भएका छन् । हेटौंडामा परीक्षा केन्द्र नहुँदा अन्यत्र धाउनुपर्ने विद्यार्थीले अब हेटौंडामै सीएको परीक्षा दिन पाउने भएका हुन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले हेटौंडामा रहको हेटौंडा क्यामपसलाई परीक्षा केन्द्रको रुपमा अनुमति दिएपछि मकवानपुरसहित पायक पर्ने सीए अध्ययनरत् विद्यार्थीलाई सहज भएको छ । यसअघि मकवानपुरका विद्यार्थीलाई सीएको परीक्षा दिन काठमाडौं वा वीरगञ्ज धाउनु पर्ने बाध्यता रहेको थियो । हेटौंडामै परीक्षा केन्द्र भएपछि मकवानपुरसहित देशका जुनसुकै स्थानमा अध्ययनरत् विद्यार्थीले हेटौंडा पायक पर्दा हेटौंडाबाटै परीक्षा दिन पाउने भएका हुन् ।

हेटौंडा क्याम्पसलाई परीक्षा केन्द्रको अनुमति दिएसँगै अहिले सीएको क्याप–१ र क्याप– २ को परीक्षा सञ्चालन भइरहेको स्थानीय परीक्षा समन्वय समितिका संयोजक सीए अंकित अर्यालले जानकारी दिए । उनका अनुसार हेटौंडा क्याम्पसमा अहिले क्याप–१ र क्याप– २ मा गरी ३१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

जसमध्ये क्याप–१ मा ५ र क्याप–२ मा २६ जना विद्यार्थीले सहभागिता जनाएका छन् । क्याप–१ का सबै विद्यार्थी मकवानपुरमै अध्ययन गरेका रहेका छन् । तर क्याप–२ का ५ जना विद्यार्थी भने मकवानपुर घर भई अन्यत्र जिल्लाका क्याम्पसमा सीए अध्ययन गरिरहेका रहेको संयोजक अर्यालले जानकारी दिए ।

देशको जुनसुकै स्थानमा अध्ययन गरेको भएपनि विद्यार्थीले आफु अनुकुल परीक्षा केन्द्र रोज्न पाउने सीए अर्यालले बताए ।हेटौंडामा सञ्चालन भइरहेको परीक्षाको निरीक्षक सीए नरहरि अधिकारी रहेका छन् ।

यसअघि काठमाडौं, वीरगञ्ज,विराटनगर र बुटबलमा मात्र सीएको परीक्षा केन्द्र रहेका थिए । वीरगञ्ज, विराटनगर र बुटबलमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको शाखा कार्यालय भएका कारण परीक्ष केन्द्र तोकिएको थियो । तर हेटौंडामा शाखा कार्यालय नभएपनि यसवर्षबाट परीक्षा केन्द्रको अनुमति पाएको स्थानीय परीक्षा समन्वय समितिका सदस्य तथा रजिष्टर्ड अडिटर्स राजेन्द्र ढुंगानाले बताए ।

मकवानपुरमै सीए अध्ययन हुन थालेको अवस्थामा विद्यार्थीले परीक्षाका लागि अन्यत्र धाउनुपर्ने बाध्यतालाई हटाउन ढुंगानाको विशेष पहलमा हेटौंडामा परीक्षा केन्द्रको अनुमति पाएको हो । रजिष्टर्ड अडिटर्स ढुंगानले तीन वर्षदेखि हेटौंडामा परीक्षा केन्द्रको अनुमतिका लागि दौडधूप गर्दै आएका थिए । परीक्षा केन्द्र हेटौंडामा आएपछि मकवानपुरका विद्यार्थीका लागि सहजता भएको ढुंगानाले बताए । उनले विद्यार्थीकै सहजता र सजिलोका लागि आफु लागिपरेको जानकारी दिए ।

परीक्षा केन्द्रको सुपरिटेण्डेड हेटौंडा क्याम्पसका प्रमृुख डा. देवचन्द्र मान्नधर रहेका छन् । उनले हेटौंडा क्याम्पसमै सीएको परीक्षा केन्द्र हुनु खुशीको कुरा भएको बताए । यसले मकवानपुरमा सीए अध्ययन गर्ने विद्यार्थीलाई थप उत्साहित बनाउने र अध्ययन गर्नेहरु आकर्षित हुने जानकारी दिए ।

स्थानीय परीक्षा समन्वय समिति तीन सदस्यीय रहेको छ । जसको संयोजकमा सीए अर्याल, सदस्यमा रजिष्टर्ड अडिटर्स ढुंगाना र सदस्य सचिवमा हिमाल सापकोटा रहेका छन् ।

मकवानपुरमा हेटौंडा स्कुलअफ म्यानेजमेन्टले मात्र सीए पढाउने गरेको छ । हेटौंडामै परीक्षा केन्द्र भएपछि हेटौंडा स्कुलअफ म्यानेजमेन्टमा अध्ययनरत् विद्यार्थीले हेटौंडामै परीक्षा दिन पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*