वडा अध्यक्ष दीपक खड्कासहित ९ जनालाई माओवादीले पार्टीबाट हटायो

बाइलाइन नेपाल
२४ श्रावण २०७८, आईतवार १७:१०

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठकले पार्टी हित विपरित कार्य गरेको भन्दै ९ जनालाई कारबाही गरेको छ । पार्टी कार्यालय गर्दोइमा आइतबार बसेको जिल्ला कमिटी बैठकले ९ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।

स्थानीय पार्टी कमिटीले गरेको सिफारिसको आधारमा बकैया गाउँपालिका कमिटी सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटी सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एक बहादुर आले, कैलाश गाउँ कमिटी सदस्य सानुभाई विष्ट र हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य दीपक खड्का, उत्सव चौलागाईँ, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना रहेका छन् ।

दीपक खड्का हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुन् । उनि स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर पछिल्लो समय उनि नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गरेको हो । यस्तै माओवादी केन्द्रको स्वास्थ्य क्षेत्रका नेता समेत रहेका उत्सव चौलगाईं पनि एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका हुन् ।

साथै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य जयबहादुर वाईबालाई पार्टी प्रदेश कमिटीमा कारबाहीको लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन (पृथक) ले बताए । बैठकले पार्टी केन्द्रीय सर्कुलर अनुसार यही साउन २९ गते सम्मा वडा भेला, प्रशिक्षण र बैठक सकाउने निर्णय गरेको उनले जानकारी दिए ।

जनवर्गीय संगठनहरुमा योङ कम्युनिष्ट लिग (वाइसिएल), अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल क्रान्तिकारीको जिल्ला भेलाको तयारी गर्ने निर्णय भएको पाख्रिनले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*