नवोदय साहित्यिक क्लबले भानु जयन्तीमा विशेष कार्यक्रम गर्ने

बाइलाइन नेपाल
२२ असार २०७८, मंगलवार १७:११

हेटौंडा । हेटौंडाको नवोदय शिशु सदन विद्यालयमा रहेको नवोदय साहित्यिक बगैचा बाल क्लबले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा विशेष कार्यक्रम गरेर मनाउने भएको छ । क्लबले आज पत्रकार सम्मेलन गरेर असार २९ गते २०८ औं भानु जयन्तीको अवसरमा नेपाली भाषा र नेपाली भाषा र साहित्यको जगेर्ना गर्न विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

क्लबकी अध्यक्ष अनुषा उप्रेतीले दिएको जानकारी अनुसार असार २९ गते ६ वटा कार्यक्रमको आयोजना गरेर क्लबले भानुजयन्ती मनाउने तयारी गरेको छ । भचुर्अल माध्यमबाट हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित नाटक प्रर्दशनी, आदिकविको जीवनीसँग सम्वन्धित प्रश्नहरु सोध्ने पोलिङ कार्यक्रम, बाल साहित्य माथि बहस, मकवानपुरमा रहेर साहित्यक क्षेत्रमा क्रियाशिल तीन पुस्ते साहित्यकारहरुको रचना वाचन, आदिकविको बारेमा समालोचनात्मक दृष्टिकोण र दिमाग लगाउने खेल रहेका छन् ।

क्लबले कार्यक्रम गर्नको उद्देश्य साहित्यतर्फ आकर्षित गराउँदै रचना मार्फत समाज सुधार गर्न, नेपाली भाषा र साहित्यको जगेर्ना गर्न, विभिन्न साहित्यकाहरुको स्मरण गर्दै सम्मान गर्न, विद्यार्थीमा हुने नेतृत्व क्षमता पहिचान गरी विकास गर्न, व्यक्त्तित्व विकास गराउँदै सिर्जनशील बन्न, तार्किक साथै काल्पनिक क्षमताको विकास गराउन, कुनै पनि संस्थाहरुसँग आवद्ध हुँदा आउने समस्याहरुको समाधान गर्न, कामहरुको पूर्व योजनाहरू बनाउन, कुनै पनि काम गर्दा सञ्चार, सहकार्य, सिर्जनात्मक, समालोचनात्मकताको विकास गराउन रहेको जनाएको छ ।

कार्यक्रमको सबै तयारी पुरा भइसकेको क्लबकी अध्यक्ष तथा कार्यक्रम संयोजक उप्रेतीले जानकारी दिइन् । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ६ वटै कार्यक्रमको संयोजक तोकेर क्लबले काम गरेको उनले जानकारी दिइन् । क्लबकी सचिव दर्शना सापकोटाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा नवोदय शिशु सदनका नेपाली विषयका शिक्षक चन्द्रमणि रिमाल, बाल क्लबका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मीको सहभागिता रहेको थियो । गतवर्ष देखि नवोदय साहित्यिक बगैँचा बाल क्लवले भानु जयन्ती विशेष कार्यक्रम गर्दै आइरहेकोछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*