आमसञ्चार गृह सञ्चालनको निर्णय फिर्ताको माग गर्दै वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

बाइलाइन नेपाल
१९ असार २०७८, शनिबार १७:४२

हेटौंडा । वाग्मती प्रदेश सरकार आफैले आमसञ्चार गृह सञ्चालनका लागि विनियोजन गरेको बजेट फिर्ताको माग गर्दै विपक्षीहरुले वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेटमा सरकारले आमसञ्चार गृह सञ्चालन गर्न बजेट विनियोजन गरेको, प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेकोलगायतका आरोप लगाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दल कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका सांसदहरुले बजेटको विषयमा फरक मत राख्दै बैठकमा उठेर विरोध जनाएका थिए ।

विपक्षी दलहरुले सरकारले बजेटमा विपद् व्यवस्थापनलाई बेवास्ता गरेको, आफै आमसञ्चार गृह सञ्चालन गर्न लागेको, विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरेको र गुटको आधारमा बजेट विनियोजन गरिएको भन्दै सदनमा विरोध जनाएका थिए ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने ससर्त अनुदान बजेटमा समेत पूर्वाग्रही ढंगले विनियोजन गरेको भन्दै आपत्ति जनाए । उनले ससर्त बजेट नसच्याउने भए बजेट छलफल अघि नबढ्ने बताए । उनले सुरूङमार्ग र बिद्युतीय बस बारे समेत असन्तुष्टि व्यक्त गर्दै बजेटबाट हटाउन माग गरे । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने उनले बताए ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको बताए । उनले पूर्वाग्रही ढंगले बजेट विनियोजन र कार्यान्वयन गरिरहेको बताए । सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन संघीय सरकारको इकाइको रूपमा अघि बढेको भन्दै आपति जनाए ।

उनले बजेट पुस्तिका नै दुई ढंगको नआउनु गलत भएको भन्दै एउटै पुुस्तक बनाएर नआएसम्म संसद अघि बढ्न नसक्ने बताए । विपदमा परेका जिल्लालाई सरकारले व्यवस्था गर्न नसक्ने भए कांग्रेसले आफ्नो सेवा सुविधा जनताको राहतमा खर्चिन तयार रहेको बताए । उनले स्वतन्त्र संचारगृह चलाउन सहयोग गर्नुभन्दा सरकार आफैले संचारगृह चलाएर आफ्नो गुनगान गर्न खोजेको भन्दै बजेट फिर्ता नलिएसम्म संसद अघि बढ्न नसक्ने बताए ।

विपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक असार २० गते आइतबार बिहान ११ बजेका लागि डाकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*