वाग्मती प्रदेशसभाको बैठक आज बस्ने, प्रतिपक्षले अवरुद्ध गर्ने संकेत

बाइलाइन नेपाल
१६ असार २०७८, बुधबार १८:५९

हेटौंडा । असार १ मा आगामी आर्थिक वर्ष २०७८/o७९ को बजेट प्रस्तुत गरेसँगै स्थगन गरिएको वाग्मती प्रदेशसभाको बैठक आज असार १७ गते बस्ने भएको छ । प्रदेशसभाको बैठक प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि आह्वान गरेको हो ।

सरकारले बजेट बाँडफाँट विवरण पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यहरूलाई उपलब्ध नगराउँदा बैठक बस्न सकेको थिएन । बैठक नबस्दा बजेटमाथि छलफलसमेत रोकिएको थियो । एमालेभित्रको विवादका कारण रातो किताब प्रकाशनमा ढिलाइ भएको हो । कानुनी व्यवस्थाअनुसार तोकिएकै दिन बजेट ल्याइएको भए पनि पार्टीभित्रको विवाद मिलाउन सरकारले लामो समयसम्म रातो किताब प्रकाशन नगरेर योजना थपघट गरिरहेको थियो ।

बजेटमा भौगोलिक सन्तुलन कायम नगरिएको र पहुँचको आधारमा वितरण गरिएको आरोप लगाउँदै एमालेको खनाल–नेपाल समूहका सांसदहरू सरकारसँग रुष्ट छन् । उनीहरूले अबन्डाका रूपमा धेरै बजेट राखेर सरकारले मनलाग्दी रूपमा बजेट चलाउन खोजेको आरोप लगाएका छन् । डोरमणि पौडेल नेतृत्वको सरकार असन्तुष्ट सांसदका केही मागहरू सम्बोधन गरेर अगाडि बढ्न खोजेको भए पनि ठोस सहमति भएको छैन । जसका कारण एकल बहुमत रहेको अवस्थामा पनि बजेट ‘फेल’ हुन सक्ने अनुमान गर्न थालिएको छ । हाल १ सय ९ सांसद रहेको प्रदेशसभामा एमालेका सभामुखसहित ५६ जना सांसद छन् ।

यसअघि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रम फेल गराउन मोर्चाबन्दी गरे पनि प्रदेशसभामा एकल बहुमत रहेको एमाले एउटै कित्तामा उभिँदा असम्भव भएको थियो । अहिले पनि उक्त मोर्चाबन्दी कायमै छ । ‘प्रदेश सरकार संघको एउटा इकाइ जसरी अगाडि बढिरहेको छ । जसको कारणले गर्दा हाम्रो मोर्चाबन्दी कायमै छ,’ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने ।

खनाल–नेपाल समूहले पार्टी एकताका लागि सन्देश दिने भन्दै नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग गरेका थिए । बजेट पास गराउने समयमा भने यो समूहले प्रदेश सरकारसँग असहमति व्यक्त गरिरहेको छ । यसै कारण सरकारले प्रदेशसभा बैठक डाक्न ढिलाइ गरिरहेको थियो । ‘सरकारलाई बजेटमा सन्तुलन कायम गर्न र प्रतिपक्षीलाई पनि समेट्न हामीले आग्रह गरेका हौं तर त्यसो भएको छैन । त्यसकारण पार्टीभित्रै एकमत छैन । हामी अझै छलफलमै छौं,’ खनाल–नेपाल समूहका एक नेताले भने ।

एमाले मुख्य सचेतक दीपक निरौलाले बजेटको विषयमा आफ्नो दलभित्र मतभेद नरहेको दाबी गरे । उनले स्थानीय तहहरूको बजेट र प्रदेशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण बैठक बस्न नसकिएको बताए । सभामुख सानुकुमार श्रेष्ठले रातो किताब सांसदहरूले प्राप्त गरेसँगै बैठक बोलाएको बताए । प्रदेश सरकारले चालु बजेटको तुलनामा करिब १० प्रतिशतले वृद्धि गर्दै आगामी आवका लागि लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*