वागमती प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गरे कांग्रेसको सरकारले खारेज गर्छः ईन्द्र बानियाँ

बाइलाइन नेपाल
१५ असार २०७८, मंगलवार १५:२६

हेटौंडा । वागमती प्रदेशसभा प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले प्रदेशमा आमसञ्चार गृह सञ्चालनमा ल्याए कांग्रेस सरकारमा पुगेपछि खारेज गर्ने बताएका छन् । आज हेटौंडामा प्रदेशको सञ्चार नीति बारे संवाद कार्यक्रममा बोल्दै नेता बानियाँले बहुमतको आडमा एमालेको सरकारले प्रदेशमा सञ्चालनको तयारी गरेको आमसञ्चार गृह काँंग्रेस सरकारमा जाने बित्तिकै खारेज गर्ने बताएका हुन् ।

पत्रकार महासंघ केन्द्रीय कमिटीको आयोजना तथा महासंघ मकवानपुरको संयोजनमा भएको कार्यक्रममा बोल्दै नेता बानियाँले निजी सञ्चार माध्यमको हित प्रवद्र्धन गर्दै नियमन गर्नुपर्ने सरकारले उल्टै सञ्चारमाध्यमलाई अंकुश लगाउने र आफ्नो गुनगान गाउन सञ्चारमाध्यम सञ्चालन गर्न लागेको भन्दै विरोध जनाए । अहिले सरकार अलोकतान्त्रिक भएको उल्लेख गर्दै नेता बानियाँले सरकारले आफ्नै मिडिया खोल्ने, निर्माण कम्पनी खोल्ने जस्ता गलत बाटोमा हिँडिरहेको आरोप लगाए ।

आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा प्रदेश सरकारले आमसञ्चारगृह सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । प्रदेश सरकारको यो कदमको संसदमा विरोध गर्ने नेता बानियाँले बताए । उनले जर्वजस्त आफ्ना नभएका कुरा र कामलाई गुनगान गाउन मिडिया सञ्चालन गर्न लागेको आरोप लगाउँदै त्यसलाई पास हुन नदिने बताए । मिडिया सञ्चालनको तयारीले पनि सरकारले राम्रा काम गर्न नसकेपछि आफ्नो तारिफ आफै गर्न तम्सेको उनले आरोप लगाए ।

अहिले सरकारको नेतृत्व गर्नेहरु संविधान, विधि, पद्दती केही पनि नमान्नेहरु भएकाले स्वतन्त्रता माथि हस्तक्षेप भइरहेको नेता बानियाँले उल्लेख गरे । उनले भने–‘ प्रदेश सरकार संविधान कार्यान्वयनमा लागेको छैन्, अहिलेको व्यवस्था प्रति इमान्दार छैन्, केन्द्र सरकारको इकाइको हैसियत भन्दा माथि उठ्न सकेको छैन् । केन्द्र सरकारले जे भन्छ त्यही गर्ने गरेको छ । यो केन्द्रको छायाँ सरकारबाट आशा गर्नु बेकार छ ।’

यसैगरी प्रदेशसभा सांसद सदस्य प्रेमबहादुर पुलामीले परिवर्तन पछिका हरेक व्यवस्थालाई अहिलेको सरकारले प्रहार गर्दै आइरहेको बताए । यसै सन्दर्भमा स्वतन्त्र प्रेस माथि पनि वागमती प्रदेश सरकारले हमला गरेको उनको भनाइ छ । आफ्नो गुनगान आफै गाउनका लागि स्थापना गर्न लागेको आमसञ्चार गृह विरुद्ध संसदमा विरोध जनाउने उनले प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘ स्वतन्त्र प्रेस माथिको हस्तक्षेप जायज छैन्, यसको छलफल सुरुभएपछि हामी संसद भित्र विरोध गर्छ, तपाईहरु संसदबाहिर सडकमा उत्रिनुस् । सबै मिलेर दबाब दिऔं र यसलाई रोकौं ।’ उनले सरकारको यो कदमलाई असफल बनाउन सबै एकजुट भएर लड्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले सरकारले आसञ्चारगृह सञ्चालन गरे निजी क्षेत्रबाट सञ्चालित सञ्चारगृहरु धराशायी हुने र श्रमजीवी पत्रकार झन हतोसाहित हुने बताइन् । सरकारी विज्ञापन पनि सरकारको मिडियामा छाप्ने र आफ्नै गुनगान गाउन मिडिया सञ्चालन गर्न लागिएको हो भने यो ठिक नभएको उनको भनाइ छ । अहिलेको प्रदेश सरकारले मिडिया सञ्चालन गर्न लागेको कुराले प्रेस वतन्त्रता माथि नै आक्रमण भएको उनले बताइन् । आफ्ना कार्यकता पालनपोषण गर्न मिडिया खोल्ने र आमश्रमजीवी पत्रकारलाई समस्यामा पार्ने सरकारको कदम गलत भएकाले सच्याउने उनले आग्रह गरिन् ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव श्रृजना अर्यालले ६० प्रतिशित भन्दा धेरै सञ्चारमध्यम र श्रमजीवी पत्रकार भएको प्रदेश सरकारले आमसञ्चार क्षेत्रलाई बेवास्ता गर्दै आफै मिडिया सञ्चालनमा लाग्नु दुःखद् भएको बताइन् । उनले सरकारको यो कदमको महासंघले विरोध गरेको जानकारी दिइन् । जनुसुकै अवस्थामा जोखिम मोलेर फिल्डमा खटिने पत्रकारलाई प्रोत्साहन गर्नुको सट्टा निराश बनाउने काम प्रदेश सरकारले गरेको भन्दै उनले सरकारका गलत कदम फिर्ता लिन आग्रह गरिन् ।

महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, ध्रुव रावल, आन्तरिक मामालिा तथा कानून मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेल, सञ्चार रजिष्टार रेवती सापकोटा, ब्रोकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का कार्यवाहक अध्यक्ष उज्वल चौलागाईं, महासंघ प्रदेश अध्यक्ष शिव देवकोटा, महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालले मन्तव्य व्यक्त गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*