प्रदेश सरकारको सहकार्यमा दूध प्रशोधन कारखान निर्माण गर्दै सहकारी संघ

किसानदेखि उपभोक्तासम्मलाई फाइदा
बाइलाइन नेपाल
१३ असार २०७८, आईतवार ११:०८

हेटौंडा । मकवानपुरमा दूध प्रशोधन कारखाना निर्माण सुरु भएको छ । जिल्लामै पहिलोपटक दुग्ध उत्पादक सहकारी संघले प्रशोधन कारखाना निर्माण गर्न लागेको हो । जिल्लाका किसानले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधिकरण गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले कारखाना निर्माण थालेको हो ।

वागमती प्रदेशमा समग्र किसानहरुको लागि काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा सहकारी संघले कारखाना निर्माण थालेको हो । संघले मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङ्दल मा जग्गा र भवन खरिद गरेर कारखाना निर्माण गरिरहेको छ । दूध प्रशोधन कारखाना निर्माण गरेर किसानदेखि उपभोक्तासम्मलाई फाइदा र सहज हुने संघको दाबी रहेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सिफारिसमा निर्देशनालयले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई कारखाना निर्माणका लागि रकम उपलब्ध गराएको हो ।

कारखाना स्थापना भएपछि जिल्लामा उत्पादन हुने दूधलाई दुग्ध सहकारीमार्फत् कारखानाले खरिद गर्ने र प्रशोधन तथा विविधिकरण गरी उपभोक्तासम्म पु¥र्याउने योजना संघको रहेको छ । जसले गर्दा किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारीकरण हुने र मिल्क होलिडेका कारण किसानले भोग्नु परेको समस्या समेत समाधान हुने जनाइएको छ । सहकारी संघ मार्फत् नै कारखाना सञ्चालन हुने भएकाले उपभोक्ताले अन्यत्रको उत्पादन भन्दा सस्तो र गुणस्तरिय दूध तथा दूध जन्य उत्पादन पाउने छन् भने नाफा सहकारीमार्फत् किसानसम्म पुग्ने जनाइएको छ ।

यस्तो छ लगानीको अवस्था

भीमफेदी गाउँपालिका–१ मा निर्माण हुन लागेको दूध प्रशोधन कारखाना निर्देशनालयले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षमा कारखानाको उपकरण खरिदका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपन्छि तथा मत्स्य निर्देशनालयले ७५ लाख रुपैयाँ रकम उपलब्ध गराउने सम्झौता भएको
छ । यस्तै उपकरण खरिदमा संघले पनि ७५ लाख रुपैयाँ लगानी गरेको छ । निर्देशनालय र संघको ५० प्रतिशत साझेदारीमा निर्माण भइरहेको कारखाना सञ्चालनको अवस्थामा आउन करिब ३ करोड लाग्ने अनुमान गरिएको छ ।

कारखाना स्थापना गर्न संघको आफ्नै जग्गा र भवन रहेको छ । कारखाना स्थापना गर्न ३ वटा भवनसहित करिब ४ कठ्ठा जग्गा ८० लाख रुपैयाँमा खरिद गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासु अधिकारीले जानकारी दिए । उनका अनुसार निेर्दशनालयसँगको सम्झौता अनुरुप अहिले विदेशबाट कारखानाका लागि उपकरण ल्याउने काम भइरहेको छ । निर्देशनालयसँग भएको सम्झोता अनुसार चालु आव भित्र सम्झौता अनुसार संघले उपकरण खरिद गरिक्नु पर्ने निर्देशक डा.रामप्रकाश प्रधानले जानकारी दिए । निर्देशनालयले उपलब्ध गराएको रकम उपकरण खरिद र कारखानाका लागि भवन निर्माण र सुधारमा मात्र खर्च गर्नु पर्ने उनले बताए ।

किन आवश्यक पर्यो कारखाना ?

निर्देशनालयले वागमती प्रदेशका १३ जिल्ला मध्ये दूध प्रशोधन कारखानाका लागि मकवानपुरलाई पहिलो पटक सहयोग गरेको निर्देशक प्रधानले जानकारी दिए । उनले पछिल्लो समय व्यवसायिक रुपमा गाईभैसी पालन गर्नेहरु बढिरहेको समयमा दूधलाई सहज रुपमा बजारीकरण गर्ने सहयोग पु¥र्याउने उद्देश्यले सहयोग गरेको बताए । संघले सम्झौता अनुसार चालु आव भित्रै उपकरण खरिद गरिसक्नु पर्ने
छ । प्रत्यक्ष किसानसँग जोडिएको योजना भएकाले छनौट र प्राथमिकतामा परेको निर्देशक प्रधानको भनाइ छ ।

कारखानाका लागि अहिले उपकरण आउने क्रम जारी रहेको संघका अध्यक्ष अधिकारीले जानकारी दिए । दैनिक जसो उपकरण आउने क्रम जारी रहेको र भवनमा उपकरण राख्ने स्थानको पनि मर्मत गर्ने काम भइरहेको बताए । उनले २०७८ मंसिरबाट कारखाना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताए । कारखाना निर्माण भएपछि किसानले दूध बिक्रीका लागि समस्या भोग्नु नपर्ने अध्यक्ष अधिकारीले बताए । कारखाना सञ्चालन भएपछि जिल्लामा उत्पादन भएका दूध दुग्ध सहकारीमार्फत् संघले खरिद गर्ने उनको भनाई छ ।

‘जसले गर्दा कुनैपनि अवस्थामा किसानले दूध बिक्री गर्न सक्छन् जसले मिल्क होलिडेको समस्इालाई समाधान गर्छ । सहकारी संघले सञ्चालन गरेको हुनाले उपभोक्ताले शुद्ध र सस्तोमा पाउछन् भने सहकारीमार्फत् नाफा किसानसम्म पुग्छ । यो कारखाना सञ्चालनले किसानदेखि उपभोक्तासम्मलाई फाइदैफाइदा छ,– अध्यक्ष अधिकारीले भने । कारखानाले दूध प्रशोधन मात्र होइन् विविधिकरण गरेर बजारसम्म पु¥र्याउने काम गर्ने उनले बताए ।

जिल्लाका सबै दूग्ध सहकारीले संकलन गरेको दूध संघले सञ्चालन गरेको कारखानामा संकलन भएर प्रशोधन हुने भएपछि ठूला दुग्ध उद्योगले सिधै कारखानाबाट खरिद गर्न सक्ने अध्यक्ष अधिकारीको भनाई छ । अहिले सरकारी तथा निजी क्षेत्रका दूध उद्योगले जिल्लाका विभिन्न दुग्ध सहकारीमै पुगेर दूध संकलन गर्दै आएका छन् ।

संघलाई कारखाना स्थापनाका लागि सिफारिस गर्ने केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले यससँग जोडिने सबै पक्षलाई फाइदा रहेको बताए । कोरोनाका कारण उपकरण ल्याउन केही समस्या परेपनि अहिले उपकरण ल्याउने काम भइरहेको जानकारी दिए । कारखाना सञ्चालनमा आएपछि किसान, दुग्ध सहकारी र उपभोक्ता सबैलाई फाइदा रहेको उनको दाबी छ ।

व्यवसायीक रुपमा पशुपालनमा आकर्षण बढी रहेको र राज्यले अनुदान दिइरहेको अहिलेको अवस्थामा कारखाना सञ्चालन भएपछि मकवानपुरे किसानले मिल्क होलिडे व्यर्होनु नपर्ने अध्यक्ष देवकोटाले बताए । जुनसुकै अवस्थामा पनि कारखानाले दूध खरिद गर्ने उनको दाबी छ । सहकारीमार्फत् किसानको उत्पादनलाई सहज बजारीकरण नै संघको मुख्य उद्देश्य रहेको अध्यक्ष देवकोटाले बताए । उनले अबको ५÷६ महिनामा कारखाना सञ्चालनमा आउने जानकारी दिए ।

निर्देशनालयका सूचना अधिकारी डा. बब्लु ठाकुरले जिल्लामा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न, दुग्धजन्य उद्योगहरुको आधुनिकिकरण गर्न, दुग्धजन्य पदार्थको उत्पादन, विविधिकरण र बजारिकरण गर्न सहयोग गरेको बताए । यसले किसानहरुको लगानीको सुरक्षा गर्दै जीवनस्तर सुधारमा समेत सहयोग गर्ने उनको भनाइ छ ।

कति छन् दुग्ध सहकारी ?, कति हुन्छ दुध उत्पादन ?

मकवानपुर किसानको बाहुल्यता भएको जिल्ला हो । यहाँका अधिकांश मानिस पशुपालन र खेती गर्ने गर्दछन् । पछिल्लो समय जिल्लामा व्यवसायीक पशुपन्छि पालन र खेतीगर्ने क्रम बढ्दै गएको छ । आधुनिक तरिका र प्रविधिमैत्री बन्दै जाँदा उत्पादनमा समेत वृद्धि भइरहेको छ । व्यवसायीक रुपमा गाई तथा भैसी पालन बढेसँगै दूध उत्पादन पनि जिल्ला बढ्न थालेको छ । प्राकृतिक प्रकोप तथा राजनीतिक घटनाक्रमका कारण किसानहरु मरमा पर्दै आएका छन् । जुन अवस्थामा दूध बिक्री हुदैन । यसले किसानलेको लगानी श्रमलाई मारमा पार्ने गरेको छ ।
मकवानपुरमा अहिले दैनिक ६० हजार लिटर भन्दा धेरै दूध उत्पादन हुने गरेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । ति मध्ये दुग्ध सहकारीबाट दैनिक ४० हजार लिटर दूध संकलन र बिक्री हुदै आएको उनको भनाई
छ । अहिले संघमा ५७ वटा दुग्ध सहकारी संस्था आवद्ध रहेको उनले जानकारी दिए ।

संघले दूध प्रशोधन कारखाना सञ्चालनमा ल्याएपछि जिल्लाबाट उत्पादन हुने सबै दूधलाई एकिकृत गर्ने योजना रहेको व्यवस्थापक दाहालले बताए । जसका लागि कारखाना निर्माणको काम धमाधम भइरहेको र निर्देशनालयसँग भएको सम्झौता अनुसारका पाश्चराइजेशन, चिलिङ भ्याट, मिल्क एनालाइजर, प्याकेजिङ मेशिन, डिप फ्रिज, चिज मेकर, रेफ्रिजिरेटेड ट्याक, डिजिटल ब्यालेन्सलगायतका उपकरण मध्ये कृही आइसकेको केही आउनेक्रममा रहेको उनले जानकारी दिए । अब उपकरण जडानका लागि काम भइरहेको दाहालले बताए ।

संघले अहिलेसम्म हेटौंडा उपमहानगरपालिका, वागमती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा रहेका दुग्ध सहकारीले संकलन गरेको दूध मात्र खरिद गर्ने गरेको व्यवस्थापक दाहालले जानकारी दिए । संघले दूध खरिद गर्ने सहकारीमा दूध बिक्री गर्ने किसानलाई राज्यले तोकेको भन्दा प्रतिलिटरमा दुई रुपैयाँ बढी दिने गरेको उनले बताए ।

कारखाना सञ्चालनमा आएपछि सबै दुग्ध सहकारीले संकलन गरेका दूध खरिद गर्ने र प्रशोधन तथा विविधिकरण गरेर उपभोक्तासम्म पु¥र्याउने योजना रहेको दाहालले सुनाए । उनले दशैंसम्ममा कारखाना सञ्चालनमा ल्याउने गरी काम भएपनि कोरोना भाइरसका कारण केही कठिनाइ झेल्नु परेको बताए । कारखाना सञ्चालनमा आएपछि प्रशोधन गरिएको दूध, फ्याट ननकिलिएको शुद्ध दूध, दही, पनिर, बटर, मोही, खुवा, ध्यू, आइसक्रिमलगायतका उत्पादन हुने व्यवस्थापक दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*