राक्सिराङ गाउँपालिकाको बजेट ५४ करोड ७३ लाखको

बाइलाइन नेपाल
१० असार २०७८, बिहीबार २०:१५

मकवानपुरको राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ मा ५४ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहीबार बसेको १० औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले आगामी वर्षको आम्दानी तथा खर्चको अनुमानित विवरण पेश गरेकी हुन् । गाउँसभामा पेश भएको बजेट बिहीबार नै आवश्यक छलफलसहित गाउँसभाबाट पारित गरिएको छ ।

चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात ५२.७० प्रतिशत र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ अर्थात ४७.३० प्रतिशत विनियोजन गरिएको छ । राक्सिराङ गाउँपालिकाको आगामी आगामी आर्थिक वर्षको आषाढ मसान्तसम्ममा आन्तरिक राजश्व वृद्धि भई ४ करोड ८३ लाख रुपैयाँ संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ०७ हजार ८ सय ४३ रुपैंया वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने अनुमान गरिएको छ ।

केन्द्रीय वित्तीय समानीकरण अनुदानमा १० करोड १२ लाख, सशर्त अनुदान १७ करोड १९ लाख, विशेष अनुदान २ करोड ८ लाख र राजस्व बाँडफाँडबाट ८ करोड ८० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट बित्तीय समानीकरणमा ८२ लाख, सवारी साधन करको बाँडफाँडबाट एक करोड ५८ लाख, सशर्त अनुदान १ करोड ७० लाख, विशेष अनुदान ६० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी पनि ४ करोड ८३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । चालु वर्षबाट ३ करोड रुपैयाँ नगद मौज्दात हुने पनि बताइएको छ ।

बजेट सभामा पेश गर्नुअघि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोरोना महामारी रोकथामको लागि स्वास्थ्य पूर्वाधार निर्माण, सडक पूर्वाधार निर्माण र स्तरीकरण, प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण र गरिबी र भोकमरी अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*