मकवानपुर–कोरिया मञ्चद्वारा राक्सिराङको कोभिड अस्पताललाई सहयोग

बाइलाइन नेपाल
८ असार २०७८, मंगलवार १९:०८

हेटौंडा । मकवानपुर–कोरिया मञ्च, दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको चपेटामा परेका मकवानपुरका स्थानीय तहलाई सहयोग अभियान कार्यक्रम जारी राखेका छन् । मञ्चले मकवानपुरका चार वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ ।

रोजगारीका लागि कोरियामा पुगेका मकवानपुरेहरुको सहयोगी मनले आज पनि मकवानपुरको राक्सिराङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । मञ्चमा आवद्ध मकवानपुरेहरुको क्रिाशिलता र सहयोगी मनका कारण राक्सिराङ गाउँपालिकाको कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

मञ्चका पूर्व अध्यक्ष तथा प्रतिनिधिहरुले स्वास्थ्य सामाग्री प्रदेशसभा सदस्य सन्त चेपाङ र गाउँपालिका अध्यक्ष राजकुमार मल्लाई हस्तान्तरण गरेका हुन् । मञ्चको आर्थिक सहयोग तथा बस्तिपुर जेसीजको समन्वयमा राक्सिराङमा रहेको कोभीड–१९ अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

मञ्चले अस्पताललाई एक थान लुगाधुने उपकरण, बेड साइड राउण्ड चेयर ५ थान, पेसिएन्ट ट्रली १ थान, बेड साइड लकर १० थान, राउण्ड ड्रेसिंग ट्रली २ थान, पुनप्रयोग गर्न मिल्ने पीपीई ३० थान, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस, सेनिटाइजर २५ लिटर, सर्जिकल ग्लोब्स २ सय ५० पिस र फेस शिल्ड ३० थान प्रदान गरेको छ ।

मञ्चका पूर्वअध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य सन्त चेपाङ रहेका थिए । मञ्चका पूर्व अध्यक्ष दुर्गाप्रसाद दाहालले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसको संक्रमणलार्य न्यूनिकरण तथा उपचारमा सहजताका लागि दक्षिण कोरियामा रहेका मकवानपुरेहरुको तत्परतामा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । विपदमा रहेका हरेक क्षेत्रलाई संस्थाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य चेपाङले कोरोना महामारीमा राज्य निरीह भएको अबस्थामा प्रवासमा रहेर पनि आफ्नो देश र जन्मभूमि प्रति देखाएको सहयोगी भावनाको कदर र प्रसंशा गरे । उनले अभियान संचालन गर्नुहुने मञ्चकासम्पूर्ण टीम र बस्तीपुर जेसीज हाँडिखोला प्रति हार्दिक आभारका साथ धन्यवाद व्यक्त गरे । उनले भोलीका दिनमा मञ्चले समस्यामा परेकाहरुलाई गर्ने सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

मञ्चका पूर्व सचिव सञ्जिव पाठकको सहजीकरणमा भएको कार्यक्रममा कार्यक्रममा राक्सिराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल, मञ्चका पूर्व अध्यक्षहरु राज तामाङ गोले, दुर्गाप्रसाद दहाल र रमेश उप्रेती, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको संस्थापक अध्यक्ष किशोर ब्लोन, गाउँपालिकाका वडा अध्यक्षहरु, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, बस्तिपुर जेसीज हाँडिखोलाका पदाधिकारीहरु एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।

स्वास्थ्य सामाग्री मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाका अध्यक्ष सूर्य रुम्बाको अग्रसरतामा संकलन गरिएको थियो । उनले सहयोगका लागि कोरियामा रहेर समन्वय गरेका छन् ।

सहयोग अभियान अन्तरगत मञ्चले हेटौंडा अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री, अस्पतालमा रहेको हेल्प डेक्स मकवानपुरलाई पानी, मकवानपुरगढी गाउँपालिकालाई करिब ८० हजार र कैलश गाउँपालिकालाई एकलाख ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*