वागमती प्रदेश सरकारले आफै मिडिया सञ्चालन गर्ने, १० करोड रुपैयाँ विनियोजन

बाइलाइन नेपाल
१ असार २०७८, मंगलवार १९:१९

हेटौंडा । बागमती प्रदेश सरकारले आफै मिडिया सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दै सरकारले आफ्नै सञ्चारगृह स्थापना गर्न बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने प्रयास गरेको भएपनि विविध कारणले सफल हुन सकेको थिएन ।

मन्त्री कैलाश ढुंगेलले बजेट भाषणमा प्रदेश सरकारको आफ्नै सञ्चारगृह स्थापना गर्न १० करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा रहने गरी आमसंचार गृह स्थापना गरिने जनाइएको छ ।

अब केन्द्र सरकारको जस्तै प्रदेश सरकारको पनि आफ्नै मिडिया हुने भएको छ । केन्द्रमा गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायतका सञ्चारसंस्था सरकारको मातहतमा रहेको छ । प्रदेशमा पनि ठूलो रकम खर्च गरेर अब प्रेस मेशिन खरिददेखि छापा तथा इलेक्ट्रोनिक सञ्चारमाध्यम सञ्चालनमा आउने जनाइएको छ ।

प्रदेशभित्रको सूचना तथा सञ्चारलाई प्रभावकारी, व्यवस्थित र अनुशासित बनाउन सूचना बैंक सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको उनले बताए । प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी तथा जवाफदेही बनाउन सञ्चारमाध्यमसँगको सहयोगमा ‘जनतासामु प्रदेश सरकार’ कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्याइएको मन्त्री ढुंगेलले जानकारी दिए ।

वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*