कैलाश गाउँपालिकालाई मकवानपुर–कोरिया मञ्चको सहयोग

बाइलाइन नेपाल
३१ जेष्ठ २०७८, सोमबार १६:०५

हेटौंडा । कोरोना भाइरसको संक्रमण रोक्न तथा उपचारमा सहयोगका लागि मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले कैलाश गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसका कारण स्वास्थ्य सामाग्रीको अभाव भोग्दै आएको मकवानपुरको विकट गाउँपालिकालाई मञ्चले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

गाउँपालिकालाई एक कार्यक्रमका बीच मञ्चले ३५ थान पनुप्रयोग गर्न सकिने पिपिई सेट, पाँच थान अक्सिजन सिलिण्डर, १५ वटा अक्सिमिटर, ४० थान फेस शिल्ड,सहित करिब एकलाख ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामाग्री कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानलाई मञ्चका पूर्व अध्यक्ष, महासचिव तथा सदस्यले हस्तान्तरण गरेका थिए । मञ्चले गाउँपालिका नै पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष मुक्तानले जिल्लाकै विकट गाउँपालिका पनि कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएको बताए । सबै क्षेत्रको सहयोगबाट कोरोना विरुद्ध लडिरहेको उल्लेख गर्दै अध्यक्ष मुक्तानले प्रवासबाट समेत गाउँपालिकाको लागि सम्झेको भन्दै मञ्चलाई धन्यवाद दिए । उनले मञ्चले हिजो देखि सहयोग गरेको बताउँदै भोलीका दिनमा पनि गाउँपालिकासँग समन्वयका लागि आग्रह गरे । मञ्चको सहयोगले कोरोनाविरुद्ध लड्न गाउँपालिका र स्वास्थ्यकर्मी तथा संक्रमितलाई झन हौसला मिलेको अध्यक्ष मुक्तानले बताए ।

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग जुटाउने र वितरणका सम्वन्धमा वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोनले जानकारी दिएका थिए । उनले आफ्नो देश कोरोनाले संकट ल्याएको समयमा प्रवासमा रहेका नेपालीले सकेको आर्थिक संकलन गरेर सहयोग गरेको बताए । उनले भोलीका दिनमा पनि विपद तथा समस्यामा परेका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा मञ्चका पूर्व अध्यक्षहरु दुर्गाप्रसाद दाहाल, राजकुमार गोलेलगायत मञ्चका पूर्ब पदाधिकारी एबं सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथले गरेको थियो ।

मञ्चले यसअघि हेटौंडा अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री, अस्पतालमा रहेको हेल्प डेक्स मकवानपुरलाई पानी, मकवानपुरगढी गाउँपालिकालाई करिब ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*