नेपालमै पहिलो पशुमैत्री पार्क निर्माण गर्दै मकवानपुरगढी गाउँपालिका

बाइलाइन नेपाल
३१ जेष्ठ २०७८, सोमबार १३:५५

हेटौंडा । हामीले मानिसहरुका लागि विभिन्न प्रकारका पार्क बनाएको देखेका छौ । विश्वका सबै देशले पर्यटकलाई आकर्षण गर्न नयाँनयाँ शैली अपनाएर व्यवस्थित, सुविधाजनक ठूलाठूला पार्क निर्माण गरेका छन् । जहाँ घुम्नका लागि विभिन्न देशबाट पर्यटक पुग्छन् । मानिसका लागि अहिले टोलदेखि ठूला सहरसम्म पार्क निर्माण हुने क्रम जारी छ । तर तपाईंहरुले पशुपन्छिका लागि पार्क बनेको सुन्नु वा देख्नु भएको छ ? छैन भने अब मकवानपुरमा रहेको मकवानपुरगढी गाउँपालिकाले निर्माण गर्दैछ । सम्भवत नेपालमै पहिलो पटक गाउँपालिकाले पशुमैत्री पार्क निर्माण गर्न लागेको हो । हालसम्म नेपालमा गढी गाउँपालिकाले गरेको परिकल्पना जस्तो पशुमैत्री पार्क निर्माण भएको बाहिर आएको छैन ।

आधुनिक पशुपालन र कृषि क्षेत्रमा अघि बढिरहेको गाउँपालिकाले कृषि र पशु क्षेत्रको विकास एवम् प्रवद्र्धनका लागि पशुमैत्री पार्कको अवधारणा ल्याएको हो । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा निर्माणको लक्ष्य राखिएको पार्कको सुरुवात भने भइसकेको छ । पार्क निर्माणको स्वागत गर्दै वागमती प्रदेशमा पशुपक्षि तथा मत्स्य पालनमा आधुनिकिकरणसहित सहयोग गर्दै आएको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले बजेट नै उपलब्ध गराइसकेको छ । मकवानपुरगढी गाउँपालिका– ३ कालिखोला सामरीमा निर्माण हुन लागेको पशुमैत्री पार्क निर्माण गर्न ७ करोड ३ लाख ७६ हजार कूल लागत अनुमान गरिएको छ । पार्क बहुवर्षिय योजना अन्तर्गत निर्माण गरिनेछ ।

पार्क निर्माणका लागि चालु आव २०७७/०७८ को पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको स्विकृत कार्यक्रम अन्तर्गत पशुमैत्री पार्क स्थापना तथा संचालनको लागि १० लाख रुपैयाँ बजेट गाउँपालिकालाई उपलब्ध गराएको निर्देशनालयका सूचना अधिकारी डाक्टर बब्लु ठाकुरले बताए । पार्क निर्माणको पहिलो चरण अन्तर्गत निर्देशनालयबाट १० लाख, गाउँपालिकाबाट १० लाख र समुदायबाट २ लाख ७८ हजार बराबरको निर्माण भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।

पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयको १० लाख र गाउँपालिकाको १० लाखले चालु आवमा पार्क निर्माण स्थललाई तारबार गर्ने अध्यक्ष हुमागाईंले जानकारी दिए । प्रदेश र गाउँपालिकाको बजेटबाट मात्र पार्क निर्माण सम्भव नभएकाले संघीय बजेटका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले पार्क निर्माणमा निर्देशनालयले सहयोग गर्ने बताए । नेपालमै कृषक लक्षित पशुमैत्री पार्क निर्माण हुन लागेकाले निर्देशनालयले बजेट बिनियोजन गरेको उनको भनाई छ ।

पार्क निर्माण भएमा नेपालकै नमुना हुने र एकै स्थानमा किसानले धेरै सेवा र जानकारी प्राप्त गर्न सक्ने निमित्त निर्देशक डा. प्रधानले बताए । यसका लागि गाउँपालिका कार्यालयले बजेटसँगै निर्माणमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ठूलो लगानीको योजना भएपछि किसानहरुका लागि उपयोगी र हितकर रहेको उनको भनाइ छ ।

पशु मैत्रीपार्क ६२ हजार ८ सय १३ बर्गमिटर क्षेत्रफलमा बन्ने छ । समुन्द्री सहतबाट ५ सय ११ मिटरको उचाइमा बन्न लागेको पशु मैत्रीपार्कलाई मकवानपुरगढी गाउँपालिकाको आठै वटा वडाको कृषि केन्द्रको रुपामा बिकास गरिने गाउँपालिका अध्यक्ष हुमागाईले जानकारी दिए । उनले मकवानपुरगढी गाउँपालिकामा बन्न लागेको पार्क नेपालकै पहिलो र नमुनालायक पार्क भएको दाबी गरे । उनले भने– ‘मलाई जानकारी भएसम्म यस्तो खालको कामको अभ्यास नेपालमा कतै भएको छैन, यो नै पहिलो हो ।’

पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतको आकृति, तालिम केन्द्र, रमणिय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्विमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, आराम स्थल, पदमार्ग लगायतका संरचनाहरु रहने गाउँपालिकाका प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।

पार्क भित्र निर्माण गरिने कृषि तालिम घरबाट गाउँपालिका भरीका किसानहरुलाई सक्रिय तथा सक्षम बनाउन उल्लेख्य भूमिका खेल्ने अध्यक्ष हुमागाईले बताए । उक्त तालिम हलमा गाउँपालिकाका आठै वटा वडाका कृषकहरुलाई आवश्यक पर्ने विभिन्न किसिमको तालिम, अन्तरक्रिया गोष्ठीलगायतका क्रियाकलाप संचालन गर्ने उदेश्यले बनाउन लागेको जानकारी दिए ।

पार्क भित्र बिशेष गरी पशुपालक कृषकहरुलाई जानकारी गराउन विभिन्न प्रकारका घाँसहरु लगाइने छ । लगाइएका घाँसहरुलाई लामो समयसम्म कसरी प्रयोग गर्न सकिन्छ र हिउँद महिनामा घाँसको अभाव हुन के गर्न सकिन्छलगायतका विषयमा तालिम संचालन गरिने छ ।
त्यस्तै बाटिकाको पार्कभित्र गाई,भैसी, बाख्रा, भेडा, बङ्गुरलगायतका विभिन्न पशुको आकृतिहरु निर्माण गरिने छ । पशु मैत्रीपार्क निर्माणको लागि गाउँपालिकाले डिपिआर तयार गरिसेको छ । डिपिआर अनुसार गरिएको लगानी खेर नजाने गरी पार्क निमाण कार्य शुरु भएको अध्यक्ष हुमागाईले बताए ।

गाउँपालिकाको बजेटबाट निमार्ण गर्न असम्भव रहेकोले बागमती प्रदेश र संघीय सरकारसंग बजेटको लागि प्रस्ताब अगाडि बढाएर काम थालेको अध्यक्ष हुमागाईंले बताए । पार्क निर्माणको लागि समयमै प्रर्याप्त बजेट उपलब्ध भएको खण्डमा आगामी दुई बर्षमा निमार्ण सम्पन्न गरिसक्ने लक्ष्य लिएको अध्यक्ष हुमागाई बताउँछन् ।

पार्क निर्माण भएपछि गढीका कृषक मात्र नभई आन्तरीक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । पर्यटन आगमनसँगै स्थानीयले प्रत्यक्ष आर्थिक लाभ समेत लिन सक्ने अध्यक्ष हुमागाईंको तर्क छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ६ किलोमिटरमा पुग्न सकिने भएकोले पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष हुमागाईं बताउँछन् ।

मकवानपुरगढी गाउँपालिकाका अधिकांश व्यक्ति कृषि क्षेत्रमा आवद्ध छन् । करिब ५ हजार घरधुरी रहेको गाउँपालिकामा अधिकांश घरमा पशुपालन गर्ने गरेको प्रशासकीय अधिकृत पुडासैनीले बताए । उनका अनुसार करिब एक हजार किसानले व्यवसायीक रुपमा पशुपालन गरिरहेका छन् । गाउँपालिकामा रहेका र आसपासका अन्य स्थानीय तहका किसानका लागि समेत पार्क बहुउपयोगी हुने प्रशासकीय अधिकृत पुडासैनीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*