मकवानपुर–कोरिया मञ्चद्वारा गढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

बाइलाइन नेपाल
३१ जेष्ठ २०७८, सोमबार ०७:३८

हेटौंडा । मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसका कारण समस्या परिरहेको अवस्थामा मञ्चले गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमका बीच मञ्चले २५ थान पनुप्रयोग गर्न सकिने पिपिई सेट, २५० वटा सर्जिकल ग्लोब्स, १२५० सर्जिकल माक्स, ३० थान फेस शिल्ड, २५ लिटर ह्यान्ड सेनिटाईजर गरि करिब ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामाग्री मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बालाई मञ्चका पूर्व अध्यक्ष, महासचिव तथा सदस्यले एकसाथ हस्तान्तरण गरेका थिए । साथै स्वास्थ्य सामाग्री उपाध्यक्ष रुम्बासँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने साथै सिनियर अहेव लक्ष्मण दाहाल र अहेव कौशल्या धमलालाई पनि संयुक्त रुपमा हस्तान्तण गरिएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष रुम्बा ले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय र अमुल्य रहेको बताइन् । उनले सबैको सहयोगले गाउँपालिकाले कोरोना भाइरसका संक्रमितको उपचारमा सहजता भइरहेको उल्लेख गरिन् ।

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा मकवानपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले मकवानपुरबाट कोरियामा गई विभिन्न पेशा ब्यवसायमा संलग्न मनकारी ब्यक्तित्वहरुले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग होस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिए ।

मञ्चका वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पूर्व अध्यक्षहरु दुर्गाप्रसाद दाहाल, राजकुमार गोलेलगायत मञ्चका पूर्ब पदाधिकारी एबं सदस्यहरुको सहभागिता रहेको थियो।

मञ्चले आइतबार हेटौंडा अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री र अस्पतालमा रहेको हेल्प डेक्स मकवानपुरलाई पानी सहयोग गरेको थियो । मञ्चले कैलाश र राक्सिराङ गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*