मकवानपुर–कोरिया मञ्चद्धारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

बाइलाइन नेपाल
३० जेष्ठ २०७८, आईतवार १३:१३

हेटौंडा । सामाजिक सेवामा सक्रिय मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई आज स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया देखि नेपालसम्म समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको मञ्चले कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्ससहित करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रतिष्ठानका रजिष्ट्रर तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मेयर महतले मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय रहेको बताए । शिक्षा, स्वस्थ्य तथा समस्या परेकाहरुलाई मञ्चले गरेको सहयोगलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । रजिष्ट्रार प्रसाईंले कोरोना कहरको समयमा सबै क्षेत्रको सहयोगले अस्पताललाई सहज भएको बताए उनले सहयोगका लागि मञ्चलाई धन्यवाद दिए ।

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएको बताए । उनले दक्षिण कोरियामा रहेका मञ्चका सदस्यहरुको अग्रसरतमा स्वास्थ्य सामाग्री हेटौंडा अस्पताललाई सहयोग गरेको उल्लेख गरे । विपदमा रहेका हरेक क्षेत्रलाई सकेको सहयोग गर्ने मञ्चको पूर्व कार्यक्रम अनुसार अस्पतालालाई पनि सहयोग गरेको जानकारी दिए ।

मञ्चका पूर्व अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चकै पूर्व अध्यक्ष राजकुमार गोलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष सुनिल मोक्तान, मेसु डा.रामचन्द्र सापकोटा, मञ्चका महासचिव शुभराज भोम्जन, वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मञ्चका पूर्व अध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा वितरण गरिएको स्वास्थ्य सामाग्री मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाका अध्यक्ष सूर्य रुम्बाको अग्रसरतामा संकलन गरिएको थियो । उनले सहयोगका लागि कोरियामा रहेर समन्वय गरेका थिए ।

यसैबीच, मञ्चले हेटौंडा अस्पतालमा सञ्चालन भइरहेको हेल्प डेस्क मकवानपुरलाई ५० कार्टुन पानी सहयोग गरेको छ । मेयर महतले डेक्सका संयोजक रामकृष्ण शिवाकोटीलाई पानी हस्तान्तरण गरेका थिए । साथै मञ्चले आजै मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*