हेटौंडाअस्पतालको स्तरोन्नतिका लागि सरोकारवालासँग अन्तरक्रिया

बाइलाइन नेपाल
२२ जेष्ठ २०७८, शनिबार १९:१९

हेटौंडा । रेडियो बुलेटिनले शनिबार जुममार्फत हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुले कसरी काम गर्न सकिन्छ ? बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले हेटौडा अस्पतालमा अहिले पनि धेरै समस्या रहेको र त्यसलाई नसुधार्ने हो भने अस्पतालप्रति आमजनतामा बितृष्णा आउन सक्ने खतराबाट अस्पताललाई बचाउन लाग्न सुझाव दिइन् ।

कार्यक्रममा हेटौडा अस्पतालका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले अब हेटौडा अस्पतालले बिशेषज्ञ सेवाहरु उपलब्ध गराउने मात्रै नभएर शिक्षण अस्पतालका रुपमा विकास गर्दै रहेको बताए । आगामी दिनहरुमा आफुहरुले हेटौंडा अस्पतालका पूर्व अध्यक्ष सबैसँग सल्लाह लिने र उहाँहरुको पनि समन्वयमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बिद्युत प्राधिकरण हेटौडा बितरण शाखाका प्रमुख योगेन्द्र ठाकुरले अहिले हेटौंडा अस्पतालले आफुहरुसँग डेडिकेडेट लाइनको माग नगरेको बताउँदै अस्पतालले अक्सिजन प्लान्टको सञ्चालन ठूलो क्षमतामा सञ्चालन गर्ने हो भने आफुहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा समिक्षा राख्दै पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले हेटौंडा अस्पतालका डाक्टरहरु आफ्नो ड्युटी समयमा निजी क्लिनिकमा भेटिने, अस्पतालमा आएका बिमारीलाई क्लिनिकमा पठाउने, स्वास्थ्य जाँच गर्ने उपकरणहरु सधै बिग्रिएको भन्दै निजी प्रयोगशालामा पठाउने गरेको तितो यथार्थलाई नभुल्न अस्पतालसँग आग्रह गर्दै आगामी दिनमा यस्तो गलत क्रियाकलाप रोक्न अस्पतालले ध्यान दिन आग्रह गरे । साथै उनले अस्पतालका आन्तरिक बिवादहरु यो बिपदको समयमा ल्याउनु पनि जायज नभएको बताए । उपाध्यक्ष अधिकारीले प्रतिष्ठानलाई मासिक पत्रकार सम्मेलन गर्न सुझाव समेत दिएका थिए ।

हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेटौडा अस्पतालका पूर्व अध्यक्षहरु गोविन्द खतिवडा, बलराम बल, सरोज खनाल, राजीव सुवेदी, प्रकाश पौडेल, रमेश गिरी उपस्थिति रहेको थियो । उहाहरुले हेटौडा अस्पतालमा आफु अध्यक्ष हुदा गरेका काम र अहिले हेटौडा अस्पतालले गर्नुपर्ने कामका बिषयमा सुझावहरु दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्याय, हेटौडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रमण झा, नारायणी अञ्चल आयुर्वेदिक अस्पतालका प्रमुख डा. श्रृष्टि श्रेष्ठ, हेटौडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्ले, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, अफिन मकवानपुर अध्यक्ष बिष्णुगोपाल महर्जन, गैसस महासंघ मकवानपुर कावा अध्यक्ष रमिला सापकोटा र नागरिक समाजका प्रतिनिधि ध्रुव चौलागाईलगायतकोे उपस्थितिमा छलफल आयोजना भएको हो ।

रेडियो बुलेटिनले समाजसँग प्रत्यक्ष जोडिएका बिषयवस्तुहरुलाई उठाउदै आइरहेकोमा यो पटक आफुहरुले हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुले कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउँदै रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातीले सधैं जनताको अपेक्षाअनुरुपको बिषयलाई निरन्तर उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*