पल्पसामा आजबाट आइसोलेसन सञ्चालन, खान बस्न र उपचार निःशुल्क

बाइलाइन नेपाल
१८ जेष्ठ २०७८, मंगलवार १८:२३

मकवानपुर उद्योग वाणिज्य संघले आज (बुधबार)बाट कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालनमा ल्याउने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि संघले आइसोलेसन सञ्चालनको तयारी गरेको थियो । तर सञ्चालनको अनुमति नपाउँदा आइसोलेसन सञ्चालनमा आउन सकेको थिएन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसिएमसि बैठकले अनुमति दिएपछि संघले पल्पसा सभाहलमा आइसोलेसन सञ्चालन गर्न लागेको हो । उक्त भवनमा ३० बेडको आइसोलेसना भोली बुधबारबाट सञ्चालन गर्न लागिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । आइसोलेसन सञ्चालनका लागि सबै व्यवस्थापन भइसकेको उनले बताए ।

कोरोना संक्रमितलाई घर तथा कोठा भाडामा बस्न समस्या भए आइसोलेसनमा बस्नका लागि संघले सञ्चालन गरेको अध्यक्ष कटुवालको भनाइ छ । जसका लागि हेटौंडाका केही निजी अस्पताल र संस्थाले बेड तथा स्वास्थ्यकर्मी उपलब्ध गराएका छन् ।

आइसोलेसनमा आवश्यक बेड, पंखा, टिभी, बाइफाई, तातोपानीलगायतको व्यवस्थापन गरिएको उनले बताए । उनका अनुसार आइसोलेसनमा बस्ने तथा कुरुवालाई निःशुल्क खाना र आवश्यक औषधि तथा उपचारको समेत व्यवस्था गरिने छ ।

संक्रमितलाई थप समस्या भएमा उपचारका लागि अस्पताल पुर्‍याउने, ल्याउने समेत सुविधा संघले उपलब्ध गराउने अध्यक्ष कटुवालले बताए । थप उपचारका लागि काठमडौं लैजान परे संघले उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर सहयोग गर्ने जनाएको छ । महासंघले उपत्यकाको विभिन्न स्थानमा सुविधायुक्त आइसोलेसन सञ्चालन गरिरहेको छ ।

महासंघले संक्रमितको थप उपचारका लागि अस्पतालमा बेड समेत व्यवस्थापन गर्दै आएको अध्यक्ष कटुवालले जानकारी दिए । महासंघले पनि आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क खान, बस्न र उपचारका लागि सहयोग गरिरहेको छ ।

संघले जिल्लाका विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर मकवानपुर कोभिड हेल्प डेस्क सञ्चालन गरिरहेको छ । जसले संक्रमितको अवस्थाको बारेमा जानकारी लिदैं परामर्श र खाद्यान्न सहयोग गर्दै आएको छ । साथै हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएको छ ।

आइसेलेसन सञ्चालनका लागि आर्थिक जोहो गरेको र केही संस्थाले खाद्यान्न,औषधिलगायतको सहयोग गर्ने अध्यक्ष कटुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*