बजेट निर्माणमा माओवादीले दियो मुख्यमन्त्रीलाई सुझाव, समावेशी नभए पास हुन नदिने चेतावनी

बाइलाइन नेपाल
१८ जेष्ठ २०७८, मंगलवार १६:१७

हेटौंडा । आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा ध्यान दिनु पर्ने कुरासहित नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको तर्फबाट वागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव पेश गरेको छ ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको सरकारलाई माओवादीले क्षेत्रगत रुपमा सुझाव पेश गरेको छ । मुख्यमन्त्री पौडेललाई बागमती प्रदेश प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले आज सुझाव पत्र पेश गरेका हुन् ।

सुझावमा समावेशीता र आवश्यकताका आधारमा आगामी आवको नीति तथा कार्यक्रम ल्याउन बगमती प्रदेश सरकारलाई सुझाव पशे गरेको प्रदेशका पूर्व मन्त्री तथा माओवादी नेता युवराज दुलालले जानकारी दिए । उनले भने–‘ सबै क्षेत्रलाई कसरी समावेश गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नु भनेर सुझाव दिएका छौं । दलको सुझाव समावेश हुने अपेक्षा छ ।’

बुधबार बसेको प्रदेशसभा बैठकमा दलका नेता जम्मकट्टेलले बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने निश्चित भएको भन्दै विपक्षी दलले पास हुन नदिने चेतावनी दिएका थिए ।

उनले भनेका थिए–‘बजेट ल्याउँदा अलिअलि विवाद होला, मिलाएर पास गरौँला भन्ने सोचेको हुन सक्छ । म विपक्षी दलको नेताका तर्फबाट भन्छु, जस्तो सुकै मूल्य चुकाएर पनि बजेट पास हुन दिदैनौँ,’ जम्मकट्टेलले भने, ‘तपाईंहरूले कसरी बजेट ल्याउनु हुन्छ मलाई थाहा छ । नीति तथा कार्यक्रम तयार भइसक्यो । मन्त्रिपरिषद्बाटै पास हुन बाँकी छ । अब नयाँ योजना नो इन्ट्री भनिएको छ । नेताको घर हेरेर पारिएको योजना छ । कुनै हालतमा बजेट पास हुन दिदैनौँ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*