मकवानपुरकै अग्लो स्थान सिमभञ्ज्याङमा बन्ने भो पर्वतीय ताल

थाहाको पर्यटकीय विकासको लागि महत्त्वपूर्ण : नगर प्रमुख विष्ट
बाइलाइन नेपाल
१८ जेष्ठ २०७८, मंगलवार १४:३५

थाहा । थाहा नगरपालिका स्थित मकवानपुरको सबैभन्दा अग्लो स्थान सिमभञ्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण हुने भएको छ । लामो समयदेखि स्थानीय स्तरबाट भएको ताल निर्माणको प्रयासले अब सफलता पाउने भएको हो ।

ताल निर्माणका लागि स्टमेट तयार भएपछि निर्माण प्रक्रिया अगाडि बढ्ने भएको छ । ताल निर्माणका लागि वागमती प्रदेश सिंचाई कार्यालयले डिजाइन स्टमेट तयार गरेको थाहाका नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । कार्यालयले डिजाइन स्टमेट तयार गरेपछि ताल बन्ने पक्का भएको उनले बताए । ताल निर्माणले थाहा नगरको पर्यटकीय विकासको लागि महत्त्वपूर्ण हुने प्रमुख बिष्टले उल्लेख गरे ।

नगरपालिकाको पर्यटन क्षेत्रको बिकासमा महत्त्वपूर्ण रहेको उच्च स्थानमा निर्मित कृतिम ताल निर्माण सम्पन्न गर्न आफुले पहल गरिरहेको र सोको लागि नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने थाहा नगर प्रमुख विष्टले बताए ।

करुणा भुमि सामुदायिक वन उपभोक्ता समितिको पहलमा मकवानपुरको सबैभन्दा अग्लो स्थानमा बिगत ७ बर्षदेखि नै ताल निर्माणको प्रक्रिया थालेको थियो । गतबर्ष कात्तिक २७ गते बागमती प्रदेश भौतिक योजना तथा निर्माण मन्त्री रामेश्वर फुँयालको टोलीले स्थलगत अनुगमन गरेपछि ताल निर्माणको प्रक्रिया अगाडि बढेको थियो ।

थाहानगरपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तब्य दामन सिमभन्ज्याङमा यो तालको निर्माण भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने र हिउँदको समयमा ताल तलतिरको क्षेत्रमा पानीको अभावलाई कम गर्न तालको महत्त्व बढी हुने करुणा भुमि सामुदायिक वनका अध्यक्ष बिनोदकुमार लामाले बताए ।अध्यक्ष लामाले सामुदायिक वनको अवधारणा अनुरुप उक्त क्षेत्रमा पर्यटन पार्क (मोहिनी कुन्ज) निर्माण गर्न लागिएको र उक्त पार्कको एउटा पाटो ताल पनि भएको जानकारी दिए ।

उक्त तालमा लोपोन्मुख असला जातको माछा समेत पालन गरि तालमा बोटिङ र फिसिङ गर्ने ब्यवस्था मिलाई स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको सामुदायिक वनका उपाध्यक्ष ओमकर बिष्टले बताए ।

वातावरणमैत्री तवरले कृत्रिम ताल निर्माणको प्रयास हुँदै आएको भए पनि पूरा हुन नसक्दा गतवर्षबाट वैज्ञानिक अध्ययन गरिएको थियो । मन्त्रालयले विज्ञको टोली नै बनाएर मकवानपुरको थाहानगपालिका–४ स्थित सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माणका लागि वैज्ञानिक अध्ययन गरेको थियो ।

समुद्र सतहबाट करीब दुई हजार ५०० मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माणले थाहानगरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । नगर प्रमुख विष्टका अनुसार, पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट सात लाख, शहरी विकास मन्त्रालयबाट तीन लाख र थाहा नगरपालिकाबाट तीन लाखको लागतमा केही संरचना निर्माण भएका छन् । पर्वतीय क्षेत्रमा ताल निर्माण गर्न सके तल्लो क्षेत्रमा जलप्रवाहका लागि ‘रिचार्ज’को कामसमेत हुन सक्ने नगर प्रमुख विष्टको भनाइ छ ।

बाह्रै महिना आउने पानीको स्रोत भएको र ताल निर्माणका लागि उपयुक्त भूगोल भएकाले सीमभञ्ज्याङमा व्यवस्थित रमणीय ताल निर्माण गर्न सकिने विज्ञहरुटोलीको भनाइ रहेको छ । पर्वतीय ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र व्योमकुट पर्वतको खोँचमा रहेको छ । यस वरपर सयौँ वर्षदेखिका पुराना खस्रुका रूखहरु रहेका छन् भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीबिरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटीहरु रहेका छन् ।

यसैबीच करुणाभुमि सामुदायिक वन उपभोक्ता समुहको पहलमा निर्मानाधिन उक्त पर्वतीय ताल क्षेत्रमा सोमबार सरसफाई गरेका छन् । सिमभन्ज्याङ्गका युवाहरुले तालमा बर्षाका कारण पानीको बहावले खोलिएको बाँध मर्मत गरेका हुन् । साथै ताल आसपास भएका फोहोरपनि सफा गरिएको बजार ब्यवस्थापन समिति सिमभन्ज्याङका सचिब अमित पाख्रिनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*