थाहाको तरकारीमा हुरिबतासले पुर्‍याएको क्षतिको बिवरण संकलन थालियो

बाइलाइन नेपाल
१८ जेष्ठ २०७८, मंगलवार १४:००

थाहा । हुरिबतास र वर्षाले थाहानगरका विभिन्न क्षेत्रका तरकारी बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन थालिएको छ । थाहा नगरपालिकाले जेठ १३ गते परेको अविरल बर्षा र हुरिबतासले पुर्‍याएको क्षती संकलनका लागि सबै वडा कार्यालयलाई अनुरोध गरेको छ ।

हुरिबतास र पानीले थाहाका विभिन्न वडामा गरिएको व्यवसायीक तरकारी खेतीमा क्षती पुर्‍याएको थियो । हुरिबतासले तरकारी खेतीका लागि निर्माण गरिएका टनेलसमेत उढाएको थियो । तरकारी बालीमा क्षती पुगेपछि थाहा नगरपालिकाले वडा कार्यालय मार्फत क्ष्ाितको विवरण संकलन गरेर पठाउनका लागि पत्राचार गरेको छ ।

थाहा नगरका प्रमुख लवशेर विष्टका अनुसार सबै वडालाई नगरपालिकाले उपलब्ध गराएको ढाँचामा तीनदिन भित्र क्षतिको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । संकलन गरिएका क्षतिको विवरण वडा कार्यालयले नै प्रमाणित गरेर नगरपालिकामा पठाउने उनले जानकारी दिए ।

पहिले विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा क्षतिको मूल्यांकन गरि क्षतिपूर्ति प्रदानका लागि पहल गरिने नगर प्रमुख विष्टले जानकारी दिए । संकलन क्षतिको आधारमा कसरी र कति क्षतिपूर्ति प्रदान गर्ने एउटा मापदण्ड बनाएर मात्र प्रदान गरिने उनले बताए ।

कृषकहरुले निर्माण गरेको संरचना हुरिबतासले क्षति पुर्याएकोले टनेल संगै त्यहाँ लागाइएको बालीमा समेत नोक्सान पुर्‍याएको थियो । हुरिबतासले थाहा नगरको वडा नम्बर १० को बिसिङ्खेल, ६ को बज्रबाराहिमा बढी क्षति भएको उल्लेख छ । थाहानगर तरकारी उत्पादनको पकेट क्षेत्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*