हावाहुरीले थाहामा क्षति, किसान चिन्तित

सिम्रन खड्का
१५ जेष्ठ २०७८, शनिबार ०८:२८

थाहा । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातका कारण देशैभर हावाहुरीसँगै वर्षा भईरहेको छ । हावाहुरी र वर्षाका कारण अन्य क्षेत्रमा झै कृषि क्षेत्रमा पनि भारी मात्रामा असर पु¥याईरहेको छ ।

यसैक्रममा तरकारीको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको पूर्वी क्षेत्रमा उच्च वेगको हावाहुरीबाट धेरै क्षति पुगेको छ । शुक्रबार करिव विहान ५ बजे र दिउँसो १२ बजेतिर आएको हावाहुरीले तरकारी खेतीको टनेल उडाएको छ ।

खेतबारीमा बाँस, फलामे डण्डी र प्लाष्टिकबाट बनाएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन् । टनेलसँगै उत्पादन भईरहेको काउली, गोलभेंडा, खुर्सानी लगायतका तरकारी समेत नष्ट भएका छन् ।

थाहा नगरपालिका १० बिसिङ्खेलमा लगभग सबै टनेलमा क्षति पुगेको कृषक कर्णकुमार गोपालीले बताए । उनका अनुसार अहिल्यै सबै जानकारी नभएपनि बाँसबाट निर्मित टनेलहरुमा पूर्ण रुपमा क्षति पुगेको छ ।

यसअघि बैशाख महिनामा परेको असिना पानीले पनि थाहा नगरपालिका क्षेत्रमा तरकारी खेतीमा क्षति पुगेको थियो । पटकपटक तरकारी खेतीमा क्षति पुगेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर किसानलाई राहत दिनुपर्ने किसान अगुवाहरुको माग छ ।

उच्च पहाडी क्षेत्रमा रहेको थाहा नगरपालिकामा बर्षैभर चिसो हावापानी हुने भएकाले बेमौसमी तरकारीका लागि समेत चर्चित छ । थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबाराही, चित्लाङ लगायतका स्थानमा उत्पादित तरकारी काठमाडौं, हेटौंडासहित देशमा विभिन्न स्थानमा निर्यात गरेर किसानहरुले राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*