थाहानगरमा भयावह बन्दै कोरोना संक्रमित

एउटै वडामा ८० प्रतिशत संक्रमित
सुरेन्द्रमान प्रधान
७ जेष्ठ २०७८, शुक्रबार ०७:४७

थाहानगर/थाहानगरमा अपत्यारिलो ढङ्गले कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । बिहीबार राती ढिलो गरि प्राप्त पिसिआर रिपोर्ट अनुसार एउटै वडामा परिक्षणको ८० प्रतिशतमा कोरोना संक्रमण फैलिएको पाइएको छ ।

थाहा नगरपालिकाको १ नम्बर वडाको कुलगाउमा ५ जनाको पिसिआर रिपोर्टमा सबैको पोजेटिभ आएको छ । यता, १ नम्बरकै थोकर गाउँमा १० जनाको पिसिआर रिपोर्टमध्ये ७ जनाको पोजेटिभ आएको छ ।

संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा बिना लक्षणहरुको स्वाव संकलन गरि पठाएकोमा यस्तो डर लाग्दो रिपोर्ट आएको हो ।
संक्रमित भएकाहरु पनि “केही भएको छैन” भन्दै जथाभावी हिड्नु र स्वाव दिएकाहरु रिपोर्ट नआउदै जथाभावी निस्कनुको परिणाम भयावह बन्दै गएको छ ।

दोस्रो भेरियन्टबाट सतर्क हुन सरकारले सुचना जारी गर्नासाथ थाहा नगरपालिकाले स्तर्कताका उपायहरुको खोजी गरेको भएपनि प्रभावकारी हुन नसक्दा दिनानुदिन संक्रमणको गति तीब्र बन्दै गएको हो । नगरले संक्रमण बढ्न नदिन वडास्तरमा समेत समितिहरु गठन गरेपनि औपचारिक मात्र रहन पुग्यो । “हामी सबै चिन्तित भएर सुरक्षाका उपाय अपनाउन आवश्यक छ” मेयर लबशेर विष्टले ‘कोभिड नियन्त्रण तथा रोकथाम निर्देशन समिति’को बैठकमा बारम्बार भन्ने गरेपनि सबै गम्भीर भएर नलाग्नाले समस्या जटिल बन्दै गएको छ ।

वडास्तरमा नै नियन्त्रण गर्ने अभिप्रायले मेयरसहित निर्देशन समितिले वडा नम्बर १, २, ३, ४, ६, ९ र १० मा समितिहरु गठन गर्यो । अन्य बाकी वडाहरुमा समिति गठन गरि तत्काल कृयाशील हुने नगर कार्यपालिकाको बैठकले नै निर्णय समेत गरेको थियो तर, कोरोनाको संक्रमणलाई गम्भीरताका साथ लिएनन् । कतिपय वडाहरुमा त स्वाव दिने स्थानीय पनि फेला पार्न स्वास्थ्यकर्मीको टोलीलाई हम्मेहम्मे पर्यो ।

यो विश्लेषण लेख्दासम्म थाहानगरको १ नम्बरमा ४९, २ मा ३६, ३ मा ८०, ४ मा २६ जना संक्रमित भएको पुष्टि भैसकेको छ । यसैगरी, थाहा ५ मा ११, ६ मा २४, ७ मा १, ८ मा ३३, ९ मा ३, १० मा ६, ११ मा ८ र १२ मा २ जना गरि कुल २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरअन्तर्गतका २ जना डाक्टरसहित १० जनाको टोली परिचालित छ । जम्मा २० बेडको आइसोलेसन सन्चालनमा छ, कुन्छालमा नागरिक सहभागिता सहितको ड्राइ आइसोलेसन सन्चालनको तयारीमा छ ।

हालसम्म जम्मा १२ जना निको भएका छन् । होम आइसोलेसनमा बसेका बिरामीहरुले स्वास्थ मापदण्ड पूरा नगरी “मलाई त कुनै पनि लक्षण छैन, खाना पनि खुब रुच्छ, स्वाद पनि हराएको छैन” भन्दै लापरबाहीको सीमा नाघेका छन् । बजारमा प्रहरीका लागि मात्र पसल बन्द गरिदिएका छन् । बिहे भोजमा मास्क लगाएर नाचगानमा भीड गरेका छन् । अरु त अरु, स्वास्थ्य जाँच गर्न गएकाहरुले नै भौतिक दूरी कायम गरेनन् ।

कतिपय, कोरोना “हाउगुजी” हो भन्दै लुडो, तासमा जमे । आफ्नालाई माया गर्दै नजिक हुने र अरुले खोके मात्र पनि हेला र घृणा गर्ने हाम्रो व्यवहारले सकेसम्म भित्र भित्रै पचाउन खोजे । अहिकेसम्म फेला परेका संक्रमितहरु कि त रोग पचाउनै नसके पछि स्वास्थ्य केन्द्र गए कि त बिरामीसङ्ग नजिक भएकै कारण मात्र जचाँउन बाध्य भए ।

गत वर्ष कोरोना कहर भरमा जम्मा ४५ जना संक्रमित भएको यो नगरमा ३ हप्तामा २ सय ८२ जना पुगिसक्दा पनि अझै ख्यालख्याल सम्झिरहेका छन् । जनप्रतिनिधिहरुले आफ्नो भूमिका देखाउनै सकेनन् । अहिले नगरपालिकाका १० जना कर्मचारीहरु पनि संक्रमित भएर आइसोलेसनमा बसेका छन् । वडा कार्यालयहरु करिव करिव बन्द नै छन् ।

यो अवस्थामा के गरेर समय बिताइरहेका छन् जनप्रतिनिधिहरु? जेठ २ गते पठाएको स्वावको रिपोर्ट ६ गतेसम्म नआउदा आइसोलेसनमा रहेका केही बिरामीहरु चिन्तित छन् । कन्ट्राक्ट ट्रेसिङमा परेर स्वाव दिएकाहरु पनि रिपोर्ट ढिला हुँदा झन्डै बिरामीले जत्तिकै पीडा भोगिरहेका छन् ।

अझै पनि, मेरो वडामा केही भएको छैन, गाउँ हो, भौगोलिक बिकट छ, केही हुन्न भनेर बस्ने बेला छैन । संक्रमणको लक्षण देखिएकाहरु घरघरमा सुतेर लुकेका छन् । गाउँमा भएका बिहेले धेरैलाई हेटौंडासम्म दौडाए, अझै जेठ महिनामा झन्डै ८ वटा लगनहरु छन् । जनप्रतिनिधि भनेका सिफारिसमा सहि गर्न मात्र होइन, समाजमा अप्ठेरो पर्दा “म छु” भनेर उभिनका लागि पनि हो ।

अहिले हरेक नागरिक राजनीतिक रुपले कुनै न कुनै दलसङ्ग आबद्ध छन्, कम्तिमा आफ्ना कार्यकर्ता, शुभेच्छुकहरुलाई नियन्त्रण गर्न सहयोग होस् भन्ने हेतुले निर्देशन समितिमा राखिएको होला ।

हरेक दिन कोरोनासङ्ग लडाइँ लडेकाहरुको अन्तर्वार्ता सुन्दा नयाँ जीवन पाए भनिरहेका छन् तर, हाम्रो राजनीतिले “रिसाउला” भन्ने मनोभावले खुलेआम रोग संक्रमणको जोखिम बढाइरहेकालाई समेत केही भन्न नसकेर प्रहरीमा फोन गरिरहेका छौँ ।

समाजमा मानिस बाचे मात्र हाम्रो व्यापार, पेसा, व्यवसाय, राजनीति, समिति सबै रहन्छ, यहि समाज स्वस्थ्य नरहे कसको के रहन्छ र? अझै नियन्त्रण बाहिर गैसकेको छैन, सबैले आफ्नो दायित्व र कर्तव्य निर्वाह गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*