राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, कोरोना परीक्षण नगराए पनि हुने

संक्रमित मतदातालाई ‘छुट्टै गेट’
बाइलाइन नेपाल
५ जेष्ठ २०७८, बुधबार १८:३४

हेटौँडामा बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदानका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत डिल्लीरमण श्रेष्ठले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका बीच गर्न लागिएको उपनिर्वाचनमा आयोगले संक्रमित मतदाताका लागि छुट्टै गेटको व्यवस्था पनि गरेको छ ।

विद्यालयको पूर्व पट्टीको गेटबाट कोरोना संक्रमित मतदातालाई । पश्चिमतर्फको गेटबाट अन्य मतदातालाई प्रवेश गराइने श्रेष्ठले बताए । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मतदानबाट कसैलाई पनि बन्चित नगर्नका लागि प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पीसीआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।अधिकांश मतदाताले हेटौँडा आइपुगेर हेटौँडा अस्पतालमा कोरोना परीक्षण गराएका छन् ।

प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । विद्यालय परिसरमा क, ख र ग नामाकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोरोना संक्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिएका छन् ।

मतदान र मतगणनास्थलमा पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिने उनले बताए । सामाजिक दुरी, माक्स र स्यानिटाइजरको प्रयोग अनिर्वाय गरिएको छ । गोप्य मतदान भएकाले मतदान स्थलामा मोबाइल, क्यामेरा प्रयोगमा बन्देज, मादक पदार्थ सेवन गरी आउन नपाइने र हातहतियार प्रयोग गर्न नपाउनेलगायतका नियम बनाइएको छ ।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रंगको मतपत्रमा चुनाव चिन्ह भने एउटै राखिएको हुने पौडेलले बताए । मतदान समय सकिए लगतै विद्यालयमै मतगणना गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सभातर्फ १ सय ९ र स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिले मतदान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*