हेटौंडा अस्पतालमा अक्सिजन सिधियो, बिमारी अन्यत्र लैजान अनुरोध

बाइलाइन नेपाल
३१ बैशाख २०७८, शुक्रबार १५:४६

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल)मा अक्सिजन अभाव भएको छ । यसले ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमित तथा बिरामीको जीवन जोखिममा परेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रार राजेश प्रसाइँ अक्सिजन व्यवस्थापनका लागि सबै तिर पहल गर्दा पनि निरीह बन्नुपरेको बताउँछन् । अबको दुई-तीन घण्टाभित्र अक्सिजन आपूर्ति सहज हुन नसके अवस्था भयावह हुने बताए । उनले विकल्पमा अन्यत्र अक्सिजन भएका स्वास्थ्य संस्थामा बिरामी पठाउन थालिएको बताए ।

‘युद्धमा बन्दुक बाेकेका सिपाहीसँग गोली नभए के हुन्छ ? हामी त्यस्तै भयौं,’ उनले भने, ‘अक्सिजन महामारीसँगको लडाइँमा न्युनतम् साधन हो, केही उपाय नलागेपछि हिजोसम्म ६२ जना लाई हाइफ्लो अक्सिजनसहतिको सेवा दिइरहेकोमा अब १५ जनामा झार्ने निष्कर्षमा पुगेका छौं ।’

‘दिनमा २४० सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ प्रसाइँले भने,’३-४ दिनदेखि अस्पतालले विभिन्न तवरबाट अक्सिजन व्यवस्थापन गरेको थियो, हिजोबाट ठूलो समस्या पर्‍यो ।’

उद्योगहरुले अक्सिजन आपूर्तिमा असमर्थता जनाएपछि हिजैदेखि अस्पतालले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसविच महेश्वर न्यौपाने लगायतलाई समस्याबारे जानकारी गराएको थियो । मुख्यमन्त्रीको पहलका आधारमा ज्योती समूहको भाजुरत्न इन्जिनियरिङले दैनिक सय सिलिन्डर आपूर्ति गरिरहने प्रतिवद्धता जनाएको थियो ।

बिहीबार साँझ मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई नै उद्योग सञ्चालकले दैनिक हेटौंडा अस्पतालका लागि सय सिलिन्डर अक्सिजन दिन तयार रहेको बताएका थिए । त्यसैगरी बारा र पर्साबाट पनि थप सिलिन्डर ल्याउने अस्पतालको योजना थियो ।

‘दिउँसो १ बजेसम्म सिलिन्डरहरु आईपुग्नुपर्ने हो, तर अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफ्नै जिल्लामा अभाव रहेकाले थप सिलिन्डर बाहिरी जिल्लामा नपठाउने निर्णय गरेको भन्दै उद्योग सञ्चालकहरु पन्छिुनुभयो,’ प्रसाइँले भने,’हामीले जति हारगुहार गर्दा पनि केही लागेन ।’

उनका अनुसार अक्सिजन व्यवस्थापनबारे मुख्यमन्त्रीदेखिको सबै सम्बद्ध पक्षले पहल गरेकाले तत्कालको संकट टार्न भन्दै सेनाको गाडी बारामा अक्सिजन लिन पुगेको छ । ‘तर, त्यो गाडी फर्किन पनि केही घण्टा लाग्छ,’ अध्यक्ष प्रसाइँले भने,’त्यतिबेलासम्म यहाँ अक्सिजन सकिसक्छ ।’

उनका अनुसार बिरामीलाई चितवन पठाउन खोजिए पनि चितवनमै बेड अभाव भएकाले सम्भव नभएको उनले बताए ।

‘चितवनमा नै केही बिरामी काठमाडौं पठाउन जिल्ला प्राशसनका छलफल चलिरहेको रहेछ,’ उनले भने,’सिन्धुलीको अस्पतालले भने १०-१२ जना जति पठाइदिनुस् भनेको छ, बाँकी बिरामीलाई के गर्ने भन्ने ठगान भएको छैन ।’

अहिले इच्छुकहरुलाई नर्ससमेत राखेर तयार एम्बुलेन्समा सिन्धुलीमा जान भनिएको छ । कतिपय बिरामीका आफन्त भने आफैं अक्सिजन जुटाउन दौडधुप गरिरहेका छन् । केहीले अस्पतालको अनुरोधमा अन्यत्र नै जान थालेका छन् ।

एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएपछि अस्पतालमा बिरामी र बिरामी करूवा तनावमा छन् ।-साभारः अनलाइनखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*