मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा, हेटौंडाका पसल सातामा दुई दिन मात्र खुल्ने

मर्निङ र इभिनिङ वाक हिडेमा पनि कारबाही हुने
बाइलाइन नेपाल
३० बैशाख २०७८, बिहीबार १४:२८
फाइल तस्वीर

हेटौंडा ।  कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले मकवानपुर  भित्र जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । केन्द्र मकवानपुरको बिहीबार बसेको बैठकले जिल्ला भर निषेधाज्ञा गर्दै जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको निर्णयमा मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरमा बृद्धि भइरहेकोले संक्रमण फैलन नदिन निषेधाज्ञालाई थप प्रभावकारी बनाइने उल्लेख छ । मकवानपुरका केही स्थानीय तहमा बैशाख १९ गतेराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञामा औषधि उपचार र तोकिएको समयमा सामग्री खरिद गर्नबाहेक जथाभावी हिँडडुल गर्न पाइने छैन । खाद्यान्न र तरकारीलगायतका वस्तु खरिद गर्न प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्मको समय निर्धारण गरेको छ । तर हेटौंडा ४ खोपेगल्ली र हेटौंडा बसपार्कस्थित रहेको खुद्रा तरकारी तथा माछामासु पसल संचालनमा पूर्ण रोक लगाइएको छ ।

तर हेटौंडाको मुख्य बजार क्षेत्रमा भने अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसल सातामा दुई दिन मात्र खुल्ने जनाइएको छ । डिसीसीएमसीको निर्णय अनुसार हेटौंडाको उत्तरमा चौकिटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थानाभर्याङ र पूर्वमा क्यापा डाँडा भित्र अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसल सातामा मगलबार र शुक्रबार बिहान ५ बजेदेखि ८ बजेसम्म खुल्ने जनाइएको छ ।

यस्तै, विवाहका लागि जिल्लाभित्र वा जिल्लाबाहिर जानुपर्ने भएमा बढीमा ७ जनासम्म जान आउन सकिने व्यवस्था गरिएको छ । हेटौंडामा संचालित बैंकहरुले भने एक चौथाइ कर्मचारी राखेर मंगलबार र शुक्रबारमात्रै सेवा सञ्चालन गर्न पाउनेछन् । अन्य पालिकामा भने कर्मचारी आलोपालो गरी बैक संचालन हुनेछ । बैंक ९ बजेदेखि दिउसो १ बजेसम्म खुल्नेछ । अन्य वित्तिय संस्थाहरु भने पूर्ण रुपमा बन्द रहनेछन् ।

त्यस्तै, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तयारी उत्पादन लगायतका वस्तु लोड अनलोडका लागि बिहान १० बजेसम्म दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । डिसीसीएमसीको निर्णय जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागु गर्ने जनाइएको छ ।

कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी भएपछि गत बैशाख १९ गते मध्यरातको १२ बजेदेखि प्रशासन कार्यालयले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गको ५०० आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*