औंसीको पुर्वसन्ध्यामा थाहानगरमा थपिए १६ संक्रमित

सुरेन्द्रमान प्रधान
२७ बैशाख २०७८, सोमबार १९:०५

थाहानगर/थाहानगरमा दिनदिनै कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । आमा खुवाउने औंसीको पुर्वसन्ध्या सोमबार मात्र १६ जना संक्रमित थपिएका छन् ।

यो समेत थाहामा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेका छन् । तीमध्ये ५ जनाको नगरबाहिर उपचार भैरहेको छ्भने १ सय २४ जना होम आइसोलेशनमा छन्, एक जना भीमफेदी गाउँ पालिकाका छन् । २ को मृत्यु र ३ जना निको भैसकेको छ ।

सोमबार थाहा १ का ३, २ का ५, ३ का ६, १० का १ र भिमफेदीका १ जना संक्रमित पुष्टि भएको हो । १६ जनामा ६ पुरुष र १० महिला रहेको डा. रिकेश कार्कीले बताए ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणको लक्ष्यसहित वडावडामा गठित समितिहरुको प्रभाव देखिएको छैन । निषेधाज्ञा कडाइका साथ पालना गर्न लगाइ बजार नियन्त्रण गरी कोरोना संक्रमणको दर घटाउने उद्देश्यले विभिन्न वडाहरुमा वडा अध्यक्षहरु नै संयोजक, जेष्ठ सदस्य उपसंयोजक, वडा सदस्यहरु सदस्य, कृयाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था सदस्य रहने गरि वडास्तरीय समितिहरु गठन गरिएको थियो ।

तत्कालै कोरोनाको जोखिम बढेका वडा नम्बर १, २, ३, ४, ६, ९ र १० नम्बर वडाहरुमा समिति गठन गरि आ-आफ्नो बजार अनुगमन तथा नियन्त्रण गर्न नगर प्रमुख लवशेर विष्टले निर्देशन दिएका थिए । तर, सोमबार विभिन्न वडाहरुमा गरि १ सय ३५ संक्रमित पुगिसक्दा पनि कुनै पनि वडा समितिले बजार अनुगमन तथा भीडभाड नियन्त्रणका लागि कुनै कार्य गरेको पाइएको छैन ।

सोमबार दिउँसो थाहानगरका मूख्य बजारहरु करिव करिव सुनसान जस्तो देखिए पनि बज्रबाराहीको सरस्वती बजारमा मानिसहरुको भीडभाड देखिन्थ्यो । करिव करिव पसलहरु बन्द देखिएको भए पनि मानिसहरुको भीड देखिनुले जोखिम दर उच्च रहेको स्वास्थ्यकर्मीहरुले चिन्ता गरेका छन् ।

उता, कोभिड रोकथाम तथा न्यूनिकरण निर्देशन समितिको आइतबार बसेको बैठकले मङ्गलबार परेको औंसी पर्वले भीड बढाउन सक्ने जोखिमको न्यूनिकरणको लक्ष्य सहित २७ बैशाख राती १२ बजेदेखि २८ राती १२ बजेसम्म सबै प्रकारका पसल बन्द गरि हिडडुल समेत गर्न नदिने निर्णय कार्यान्वयनका लागि मङ्गलबार विहानैदेखि प्रहरीले बजार अनुगमन गर्ने भएको छ । सोमबार नै चेतावनी दिइसकेकोले मङ्गलबार बजारमा कुनै चहलपहल नदेख्ने आशा समितिको छ ।

उता, बज्रबराहीमा निर्माण गरिरहेको आइसोलेशन सोमबार पुर्ण रुपमा तयार भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । बलामीका अनुसार मङ्गलबार चिकित्सकसहितको टोलीले अनुगमन गरेपछि संचालनमा ल्याइनेछ । हाल सो आइसोलेशनमा २० बेडको क्षमता रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*