अब ओली र नेपाल मिले पनि ‘ब्याक’ हुन्नँः डा. खिमलाल देवकोटा

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १६:१३

बागमती प्रदेशमा ६ जेठमा हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले पार्टीले जस्तोसुकै निर्णय गरे पनि आफू ‘ब्याक’ नहुने बताएका छन् ।

‘एमालेले जस्तोसुकै निर्णय गरे पनि म अब उपनिर्वाचनबाट ब्याक हुन्नँ,’ उम्मेदवारी दर्तापछि उनले भने, ‘अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्ष मिले पनि मैले उपनिर्वाचनबाट हात झिक्दिनँ ।’

काठमाडौंमा एमालेका दुई समूहबीच सहमतिका लागि प्रयास भइरहेको सन्दर्भमा उनले आफू ब्याक नहुने बताएका हुन् । हेटौँडास्थित प्रदेश निर्वाचन आयोगमा शुक्रबार एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र एमालेको असन्तुष्ट समूहसहित विपक्षी गठबन्धनबाट देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै उम्मेदवार उम्मेदवारी दर्तापछि काठमाडौं फर्किसकेका छन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रेका देवकोटालाई कांग्रेस, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको साथ छ ।

उनले आफू स्वतन्त्र उम्मेदवार भएकाले उपनिर्वाचनमा लड्न कसैको अवरोध नहुने बताए । ‘म स्वतन्त्र उम्मेदवार हो । संघीयता, प्रदेश र स्थानीय तहका लागि लामो समयदेखि लागेको मान्छे हुँ । उपनिर्वाचनबाट अब म ‘ब्याक’ हुने छैन,’ देवकोटाले भने, ‘मैले काम गर्न उम्मेदवारी दिएको हुँ, त्यसमा कसैले अवरोध गर्न सक्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*