राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटाद्वारा मनोनयन दर्ता

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार ११:५४

हेटौंडा । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् ।

बागमती प्रदेश नीति योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका डा. देवकोटाले ११ः१५ बजे निर्वाचन आयोग बागमती प्रदेश हेटौँडाको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।

डा. देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षको साझा उम्मेदवार हुन् ।

मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादु बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस सचेतक राधा घले, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुलगायत सहभागि थिए ।

बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । नेकपा एमालेको तर्फबाट भने उम्मेदवारको टुंगो लाग्न सकेको छैन । उम्मेदवार टुंगो लगाउन अहिले बालुवाटारमा बैठक बसिरहेको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने र शुक्रबार नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ ।

वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*