राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हेटौंडामा हुँदै, आज मनोनयन दर्ता

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार ०८:३६

हेटौंडा । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उपनिर्वाचनका सबै कार्यक्रम आयोगले हेटौंडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछ ।

हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । राष्ट्रिय सभा उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने र शुक्रबार नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ ।

वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् । आयोगका अनुसार उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दल दर्ता गरेका छन् ।

उपनिर्वाचनका सबै कार्यक्रम आयोगले हेटौंडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछ । मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

मतदान स्थलमा सम्बन्धित व्यक्तिबाहेक अन्यलाई प्रवेश निषेध गरिएको र सामाजिक दुरी कायम हुने र अन्य स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू हुने गरी व्यवस्थापन गरिने आयोगले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् । देवकोटाले सामाजिक सञ्जा मार्फत आज बिहानै उम्मेदवारी दर्ताका लागि हेटौंडा आइपुगेको जानकारी दिएका छन् ।

तर नेकपा एमाले ओली समूहले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । सुरु मा एमालेले बादललाई नै उम्मेदवार बनाउने घोषणा गरेपनि एमालेको नेपाल समूहले देवकोटालाई सहयोग गर्ने बताएपछि विवाद सुरु भएको छ । निर्वाचना पराजय हुने देखेपछि बादलले उम्मेदवार नबन्ने बताएका छन् । अहिले ओली समूहलाई उम्मेदवार छान्न सकस परिरहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*