अब चुरेहिलमा पनि कोरोना संक्रमितको उपचार, प्रशासनले जारी गरेको सवारी पासलाई मात्र मान्यता

बाइलाइन नेपाल
२२ बैशाख २०७८, बुधबार १५:३६

हेटौंडा । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले ६ वटा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गरेको सूचनामा बैठकले हेटौंडा–११ मा रहेको निजी अस्पताल चुरेहिल अस्पताललाई कोभिड अस्पतालमा परिणत गरी संक्रमितको उपचार गर्ने निर्णय गरेको छ । यसअघि हेटौडा अस्पताललाई पनि कोभिड अस्पतालको रुपमा परिणत गरिएको थियो ।

कोभिड अस्पताल सञ्चालनका लागि निजी क्षेत्रका अस्पताल मध्येबाट एकको छनोट गर्न बनेको समितिको सिफारिसको आधारमा चुरेहिल अस्पताललाई कोभिड अस्पतालमा परिणत गरी उपचार सुरु गरिने जनाइएको छ । हाल अस्पतालले आइसियु सहित २५ बेडमा कोरोना संक्रमितको उपचार गर्ने निर्णयमा उल्लेख छ ।

यसैगरी बैठकले निषेधाज्ञा अवधिमा सवारीसाधन सञ्चालनका लागि प्रशासन कार्यलयबाट दिएका पासलाई मात्र मान्यता दिने, हेटौंडा अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी हेटौंडा उपमहानगरपालिकाले काजमा खटाउने निर्णय गरेको छ ।

शिवम् सिमेन्टले उपलब्ध गराएको ४२ थान अक्सिजन हेटौंडा अस्पताललाई हस्तान्तरण गर्ने, निजी औद्योगिक प्रतिष्ठानको स्वामित्वमा रहेको अक्सिजन सिलिण्डर उद्योग संघ मकवानपुरले संकलन गरी एकीकृत अक्सिजन बैक बनाउने र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रयोग गर्नेलगायतका निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*