आज हेटौंडा अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १०:०२

हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ । कोरोना संक्रमित भएपछि हेटौंडा अस्पतालमा उपचार गराईरहेका हेटौंडा –१ का ५५ वर्षीय र बारा जिल्लाको अम्लेखजंगका ४६ बर्षका पुरुष रहेको अस्पतालले जनाएको छ ।

हेटौंडाका ५५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि एन्टीजेन विधिबाट रगत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएसंगै ती पुरुषलाई हेटौंडा अस्पतालको कोभिड कक्षमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा गएराति ९ बजेर १७ मिनेटमा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

त्यसैगरी बाराका संक्रमित ४६ वर्षीय पुरुषलाई आइतवार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा सोमवार बिहान ८ बजे मृत्यु भएको हो ।

कोरोनाको दोस्रो लहरको कारणबाट मकवानपुरमा हालसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको पहिलो लहरबाट मकवानपुरमा ३२ जनाले ज्यान गुमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*