हेटौंडा अस्पतालको आईसीयु, एचडीयु र जनरल वार्डमा कोरोना संक्रमितको उपचार गरिने, ओपिडी सेवा बन्द

बाइलाइन नेपाल
१९ बैशाख २०७८, आईतवार २०:४१

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने निर्णय भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रार राजेश प्रसाईंको अध्यक्षतामा बसेको बैठकले हेटौंडा अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठान सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले दिएको जानकारी अनुसार आज बसेको बैठकले हेटौंडा अस्पतालको आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने र ओपिडी सेवा बन्द गर्नेलगायतको निर्णय गरेको छ । अस्पतालमा हाल सञ्चालन भइरहेको २० शैयाको सेवामा कोरोना संक्रमित बिमारीको चापलाई थेग्न नसक्ने भएकाले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गरिएको सदस्य चौलागाईंले बताए ।

कोरोना संक्रमितको उपचारका सबै स्वास्थ्यकर्मी खटिदा सेवा दिन नसक्ने भएकाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । तर अस्पतालको आकस्मिक, प्रसुती सेवा र ज्वरो क्लिनिकलाई भने यथावत राखिएको छ । पिसिआरको रिर्पोट एसएमएस र अनलाईनबाट छिटो उपलब्ध गराउने लगायतका चार वटा निर्णय समितिले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*