प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए माओवादीसँग सहकार्य गर्न सकिन्छः काँग्रेस

बाइलाइन नेपाल
१८ चैत्र २०७७, बुधबार १६:२५

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । बैठकमा बोल्दै नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले प्रधानमन्त्री ओली ओली कुनै नैतिकता नभएको व्यक्ति भएको भन्दै लोकतन्त्रका लागि जेलनेल भोगेका मान्छे संविधान मास्नतिर लाग्नु अनौठो कुरा भएको बताए । उनले प्रधानमन्त्री ओलीबाट प्रजातन्त्र र संविधानमाथि खतरा रहेको आरोप समेत लगाए ।

उनले लुम्बिनी प्रदेशमा माओवादीलाई आफ्नो कित्ता स्पष्ट पार्न आग्रह गर्दै मुख्यमन्त्रीलाई फाल्न सके आफूहरु सहकार्य गर्न तयार रहेको बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलसँग आफूहरुको कुनै लेनदेन नभएको भन्दै माओवादीले कित्ता स्पष्ट पार्नुपर्ने बेला आएको बताए ।

माओवादीले दुई ढुंगामा खुट्टा राख्न नमिल्ने उनको भनाइ थियो । उनले भने, ‘पार्टी फुटिसकेको छ। अब कित्ताकाट गर्नुस्। आफूलाई स्पष्ट पार्नुस्। दुईटा ढुंगामा खुट्टा राख्न पाइँदैन।’ उनले केन्द्रमा संविधान परिषददेखि अनेक खेल प्रधानमन्त्रीले गरेको भन्दै उनीबाट प्रजातन्त्र र संविधानमाथि खतरा आएको बताए ।

बैठकमा शुभकामना मन्तव्य दिँदै लुम्बिनी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकारमा रहने वा नरहनेबारे छिट्टै टुंगोमा पुग्ने बताए। उनले भने, ‘निरन्तर र गम्भीरता पूर्वक छलफल गरिरहेका छौं, सोचेर प्रतिपक्ष दलका साथीहरुको सुझाब अनुसार हाम्रो पार्टीले छिट्टै निर्णय दिनेछ।’

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा सहकार्य गरेर अगाडि जान आग्रह गरे ।

पोखरेलले सांसदहरुमा दलीय दृष्टिकोण प्रकट भएपनि विकास र सुशासनमा एक हुने बताए। ‘राष्ट्रिय राजनीतिमा जे घटना भए लुम्बिनी प्रदेशमा सहकार्यको संस्कृति निर्माण गर्दै आएका छौं । त्यसमा हामी प्रतिबद्ध नै छौं भन्ने मलाई लाग्छ’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*