हामी ३ वर्षदेखि पार्टीमा लागेको खिया हटाउने प्रयासमा छौंः नेता नेपाल

बाइलाइन नेपाल
७ चैत्र २०७७, शनिबार १६:५५

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताएका छन् । आफू निकट युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन् । पूर्ववत् रुपमा रहेका पार्टीका सवै संरचनाहरूको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उनले स्पष्ट पारे ।

उनले भने, “३ बर्षसम्म सबैतिर काइ लागेको थियो, खिया लागेको । खियालाई हामी विस्तारै हटाउँदैछौ । काइलाई हटाउँदै छौ । खिया हटाउँदैछौ । फेरि हामी दाँत माझ्दैछौ । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहित बनाउँदैछौ । झण्डै झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई तुथपेष्टले क्लियर पारेर सफा र स्वच्छ वायुको साथसाथै प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? मार्क्सवादको विचार हो । जसरी शरीरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । ”

उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गरे । पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् संरचनालाई नै अस्तित्वमा ल्याऊँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको दाबी गरे ।

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले किसान संघ, उत्पीडित समुदाय लगायतको राष्ट्रिय भेला गरि पुनर्जीवन र पुर्नताजकी दिने बताए । पार्टीको अवस्था देखेर झोक्‌र्याएर नबस्न उनले युवाहरुलाई निर्देशन दिए । उनले नयाँ उत्साह र जोशका वैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*