माधव नेपाल समूहको स्थायी समिति बैठक सकियो, विस्तृत निर्णय केन्द्रीय समिति बैठकबाट

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १२:१९

नेकपा एमाले माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको छ । छलफलले आजै बोलाइएको आफूपक्षीय केन्द्रीय समिति र सांसदहरुको बैठकको एजेण्डा पनि तय गरेको बताइएको छ ।

बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय समिति र सांसदहरुको बैठकबाट गरिने बताए ।

यसैबीच नेपाल समूहको केन्द्रीय कमिटी र सांसदहरुको बैठकस्थल सरेको छ । यसअघि अर्याल होटलमा बैठक बस्ने भनिएकोमा अहिले स्थान सरेर शंखमुलको एक क्याफेमा सारिएको हो ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*