ऋषि कट्टेलको पक्षमा फैसला, ओली-प्रचण्डको नेकपा खारेज

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार १५:०१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।

सर्वोच्च अदालतलेै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको हो । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*