सर्वोच्चको निर्णयको स्वागत गर्दै नेकपाले हेटौंडामा निकाल्यो खुशियाली र्याली

बाइलाइन नेपाल
१२ फाल्गुन २०७७, बुधबार १४:१५

हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन बदर गरेको खुशियालीमा हेटौंडामा र्याली निकालेको छ । सर्वोच्चले सुनाएको ऐतिहासिक फैसलाको पक्षमा नेकपा मकवानपुर (प्रचण्ड–नेपाल) समूहले र्याली निकालेको हो ।

हेटौंडाको भुटनदेवी माविको चौरबाट  सुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेर सिमा चोकमा पुगेर सभामा परिणत भएको थियो । र्यालीका नेकपाका  कार्याकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ ।

सिमा चोकमा पुगेर सभामा परिणत भएको र्यालीलाई पार्टी जिल्ला सचिव प्रेमबहादुर पुलामी, जिल्ला अध्यक्ष मुनु सिग्देल, केन्द्रीय सदस्य कुमारी मोक्तान, केदार न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

र्यालीमा सहभागिले नेकपा जिन्दाबाद, ‘सर्वोच्च अदालत हाईहाई’, ‘केपी ओली बाईबाई, यो जित कसको, जनताको ’ लगायतका नारा लगाएका थिए । आज देशैभर नेकपाले सर्वोच्चको निर्णयको स्वागत गर्दै खुशिलायली र्याली निकालिरहेको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई हिजो मंगलबार बदर गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*