राक्सिराङ गाउँपालिका वडाध्यक्ष रुम्बा ३ हजार धरौटीमा रिहा

बाइलाइन नेपाल
१० फाल्गुन २०७७, सोमबार २०:०३

हेटौंडा। प्रहरीको काममा असहयोग गरेको र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएका राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा धरौटीमा रिहा भएका छन् । गाँजा अप्रेशनको नाममा गाउँमा छिरेर अराजक व्यवहार गर्ने प्रहरी र स्थानीयबीचको विवादमा सहजीकरण गर्न घटनास्थल पुगेका वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार राती पक्राउ परेका रुम्बा सोमबार साँझ छुटेका हुन् । अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएकोमा प्रमुख जिल्ला अधिकारीको आदेशमा ३ हजार धरौटी लिएर रुम्बालाई तारेखमा छाडेको हो । रिहाईपछि रुम्बालाई स्वागत गर्न गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायत स्थानीयबासी जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

रिहाईपछि प्रतिक्रिया दिँदै रुम्बाले आफूले न्यायको पक्षमा बोल्दा प्रहरीले झुठो आरोपमा पक्राउ गरेको बताए । आफूले स्थानीयबासीको समस्यामा जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको उनको भनाइ थियो । आमनागरिक र विभिन्न क्षेत्रका व्यक्तिहरुको दबाबकै कारण आफ्नो रिहाई भएको उनले बताए ।

गाँजा अप्रेशनको लागि भन्दै गएको प्रहरी टोलीले गाउँमा लुटपाट मच्चाउन थालेपछि घटनास्थलमा पुगेका वडाध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी र गैरप्रहरीसमेत लिएर शंकाष्पद रुपमा राती ९ बजेको समयमा पुगेको टोलीले गाँजा खानतलासी गर्ने भन्दै बियर, डिउका कार्टुन र अन्य सामानसमेत उठाएर हिँडेपछि स्थानीयले प्रतिकार गरेका थिए । सोही क्रममा प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो ।-प्रदेश सञ्चार बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*