वडाध्यक्षलाई पक्राउ गरेकोमा राक्सिराङ गाउँपालिका अध्यक्षको आपत्ति प्रहरीको ‘लुटेरा शैली’को विरोध गर्दा निशाना: उपाध्यक्ष

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १४:२३

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले वडा नम्बर १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् । प्रहरीले शनिबार राति गाँजा खानतलासी गर्ने नाममा स्थानीयवासीमाथि दुर्व्यवहार र लुटपाट मच्चाएको भन्दै गाउँपालिका अध्यक्ष मल्लले सत्यतथ्य छानविन गर्दै प्रहरी र उक्त स्थानमा पुगेका प्रहरीसेवा भन्दा बाहिरका मानिसको पहिचान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष मल्लले वडा अध्यक्ष रुम्बाको तत्काल रिहाईको मागसमेत गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित घ्याङ्सिङटार पारीभित्ता भन्ने ठाउँमा गाँजा खोज्न गएको प्रहरीको टोली र प्रहरीसेवा भन्दा बाहिरका व्यक्तिहरुले स्थानीय व्यवसायीलाई धम्काएर बियर र नगद रकम माग गरेपछि स्थानीयवासीले प्रतिकार गरेको र सोही क्रममा प्रहरीले वडाध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राति ९ बजे स्थानीयलाई धम्याउँदै पसलका बियर र नगद लुटपाट गर्न खोजेपछि वडाध्यक्ष रुम्बासहितका स्थानीयले प्रतिकार गरेको गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले रातोपाटीलाई बताइन् । प्रहरीको लुटेरा शैलीको विरोध गर्द वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको उनको आरोप छ ।

मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने वडा अध्यक्ष रुम्बाले प्रहरीको काममा अवरोध गर्दै प्रहरीमाथि नै हातपात गर्न खोजेकोले पक्राउ गरिएको प्रतिक्रिया दिएका छन् । उनले रातोपाटीसंग भने, ‘वडाअध्यक्ष रुम्बाको नेतृत्वमा महिलाहरुले प्रहरीमाथि हातपात गर्नुभयो । त्यसैले हामीले नियन्त्रणमा लिएका हौं ।’

गाउँपालिका उपाध्यक्ष हिम्डुङ भने केही प्रहरी र केही लठैतहरु राति लुटेराको शैलीमा निजी गाडी लिएर गाउँमा आएको र उनीहरुले केही पसलमा बियर लगायतका पेय पदार्थ लुट्ने, नगद तथा गरगहना लुट्ने, स्थानीयवासीले पालेका कुखुरासमेत लुटेर लैजान थालेपछि गाउँलेले प्रतिकार गर्नुपरेको बताउँछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*