मुख्यमन्त्री र सभामुखको यस्तो ‘सेटिङ’ मा स्थगित भएको थियो वाग्मती प्रदेशसभाको बैठक

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार २१:०१

हेटौंडा । फागुन ५ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक नाटकीय रुपमा स्थगित गर्नुअघि मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच गोप्य छलफल भएको खुलासा भएको छ । ५ गते दिउँसो २ बजेका लागि बोलाइएको बैठक सभामुख श्रेष्ठले सोही दिन बिहान ६ बजे नाटकीय रुपमा स्थगित गरिएको सूचना जारी गरेका थिए ।

अघिल्लो दिन कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार ५ गते दिउँसो सदन चल्ने र सो बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि दलीय आधारमा धारणा राख्ने तय भएको थियो । त्यसका लागि सभामुख श्रेष्ठले ५ गते बिहान दलहरुको तर्फबाट बोल्ने सदस्यहरुको नाम उपलब्ध गराउन निर्देशन दिएका थिए ।

एकाएक बिहानै सूचना टाँसेर प्रदेशसभा बैठक किन स्थगित गरियो भन्नेबारे प्रदेशसभा सदस्यहरु नै अन्योलमा रहे । यद्यपि, स्रोतका अनुसार मुख्यमन्त्री पौडेल र सभामुख श्रेष्ठबीच ४ गते साँझ ७ः३० बजे भएको छलफलपछि प्रदेशसभा बैठक स्थगित गर्ने योजना बनेको हो ।

४ गते अपराह्नसम्म पनि सभामुख श्रेष्ठ ५ गतेका लागि निर्धारित बैठक बोलाउने पक्षमै रहेको स्रोतको दावी छ । सोहीअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले प्रदेशसभा बैठक राख्ने निर्णय गरेका थिए । मुख्यमन्त्री पौडेलसँगको छलफलपछि भने सभामुख श्रेष्ठले दबाबमा बैठक स्थगित गरेको स्रोत बताउँछ ।

सभामुख श्रेष्ठले मुख्यमन्त्री पौडेल सर्वदलीय बैठकका लागि आफूलाई भेट्न प्रदेशसभामा आएको स्वीकार गरे । ‘अष्टलक्ष्मीजीहरु (नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु)ले मुख्यमन्त्रीलाई बोलाउन भन्नुभयो, त्यही भएर मैले नै बोलाएका कारण मुख्यमन्त्री आउनुभएको हो,’ सभामुख श्रेष्ठले  भने ।

तर, नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुले मुख्यमन्त्रीलाई छलफलका लागि बोलाइदिन आग्रह गरे पनि सभामुख श्रेष्ठले नमानेको बताइन् । ‘सभामुखले नाटक गरिरहेका छन्, हामी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि मुख्यमन्त्रीलाई छलफलका लागि बोलाउन आग्रह गरेको हो, तर उहाँले बोलाउनु भएन,’ उनले भनिन्, ‘पछि मुख्यमन्त्री र सभामुखबीच के कस्तो छलफल भयो, हामीलाई थाहा भएन ।’

मुख्यमन्त्री पौडेल र सभामुख श्रेष्ठबीच ४ गते साँझ भएको सोही भेटपछि भोलिपल्टको निर्धारित प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको स्रोत बताउँछ । बैठक कहिले बस्ने भन्ने अझै टुंगो छैन ।

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै सभामुख श्रेष्ठले मत विभाजन कार्यविधि नभएका कारण बैठक राख्न नसकिएको स्पष्टिकरण दिएका थिए । तर मत विभाजनसम्बन्धी कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङ दोर्जे लामाले भने कार्यविधि तयार भइ बुझाउन खोज्दा सभामुख श्रेष्ठले लिन नमानेको बताए ।

लामाले विज्ञप्ति नै जारी गर्दै सभामुखप्रति रोष व्यक्त गरेका छन् । ‘बैठकमा कार्यविधि बुझाउन खोज्दा लिन नमान्ने अनि कार्यविधि नभएका कारण प्रदेशसभा बैठक बोलाउन सकिएन भन्ने ?’ सभामुख श्रेष्ठप्रति लक्षित गर्दै लामाले भने ।-रातोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*