मुख्यमन्त्री पौडेलले बन्दैन भनेको परेवा भीरमा यसरी बन्दैछ सडक

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १९:३२

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण हुन नसक्ने बताएको मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित परेवाभीरको सडक निर्माण कार्यले तिब्रता पाएको छ । मुख्यमन्त्री पौडेलले परेवाभीर खण्डमा प्रदेश सरकारले बजेट खर्च नगर्ने जनाएपछि राक्सिराङ गाउँपालिकाले चालू आर्थिक बर्षमा दुई करोड रुपियाँ बिनियोजन गरी बहुबर्षीय ठेक्का लगाएर काम सुरु गरेको हो ।

बर्सेनि पैदल हिँड्ने बाटो समेत नहुँदा धेरै मानिस भीरबाट लडेर र खोलाले बगाएर मर्ने गरेको सो भिरमा सडक निर्माण कार्य धमाधम भइरहेको छ । मनहरी बजारबाट धादिङ जिल्लाको मलेखु जोड्ने छोटो बाटोमा पर्ने परेवाभीरको यही पिरलोलाई हल गर्न स्थानीय सरकारले गरेको प्रयास सफलता उन्मुख हुँदै गएको छ । निर्माणाधीन सो सडक निर्माणका लागि मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सदस्य विरोध खतिवडाको पहलमा प्राप्त दुई करोड समेत बजेट विनियोजन भएको छ ।

स्थानीय सरकारको कामलाई समेत प्रोत्साहन गर्नेगरी तत्कालीन प्रतिनिधिसभा सदस्य खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा अर्थ मन्त्रालयमार्फत दुई करोड रुपियाँ सो सडकका लागि व्यवस्था गरेका थिए । राक्सिराङको २ करोड र संघिय सरकारको २ करोडको लगानीमा ठेक्का प्रक्रियामार्फत धमाधम निर्माणको काम भइरहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउछन् ।

मनहरी खोलाको किनारमा जग बनाएर रडसहितको बलियो कंक्रिट पर्खाल निर्माण गरी परेवाभीरको किनारै किनारै बाटो निर्माणले गति लिएको अध्यक्ष मल्लको भनाइ छ । सम्भव भएसम्म बर्षायाममा यातायात चलाउनेगरी काम काम भइरहेको उनले बताए ।निर्माणकर्ता ठेकेदार कम्पनीसँग १८ महिनामा सडक हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ ।

राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक निर्माणका लागि छ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डिपिआर निर्माण गरी ठेक्का प्रक्रिया अघि बढाएको थियो । तर उक्त खण्डमा सडक निर्माण गर्न चार करोड ३२ लाख रुपियाँ लागतमा ठेकेदार कम्पनी लामा बानियाँ जेभीले ठेक्का सकार गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

सम्झौता अनुसार परेवाभीर खण्ड ६ सय ३० मिटर लम्बाई खण्डमा बलियो कंक्रिट पर्खाल उठाएर सडक निर्माण गर्नुपर्ने छ । पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दुरी पर्दछ । अधिकाँश स्थानमा ट्रयाक खुलिसके पनि परेवाभीरको अबरोधका कारण यो खण्ड सञ्चालनमा आउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*