वाग्मती प्रदेशका सभामुख विरुद्ध विरोध प्रस्ताव दर्ता गर्ने तयारी

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार ११:०२

नेकपा विभाजनको असर प्रदेशस्तरमा फैलँदो छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासमाथि छलफल अघि नबढाई सभा अनिश्चितकालसम्म स्थगित गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूहका सांसद्हरू क्रुद्ध बनेका छन् । उनीहरूले सभामुखविरुद्ध नै प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन् ।

“अब यो सभामुखबाट चल्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । संसद्मा आएको दर्ता भएको प्रस्तावमाथि छलफल गराउनुपर्ने उनको संवैधानिक, कानुनी दायित्व हो । त्यसबाट पन्छिँदै संसद् स्थगितको सूचना टाँस गराउने कुरालाई जायज मान्न सकिँदैन,” प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेलले भने ।

मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाइन् ।

“उहाँहरूले निरन्तर षड्यन्त्र गर्दै आउनुभएको छ । हिजो पनि अबेरसम्म छलफल भएको थियो । निचोड दिनुभएको थिएन । एकाबिहानै संसद् स्थगनको सूचना आयो,” उनी भन्छिन्, “सभामुखले पनि निर्णय दिन सक्नु भएन । उहाँ खुट्टा कमाउनुहुन्छ । शीतलनिवास र बालुवाटारको मुख ताक्नुहुन्छ । माथिबाट जे आदेश आउँछ, त्यही मात्रै कार्यान्वयन गर्नुहुन्छ । उहाँ त रबर स्ट्याम्प पो बन्नुभयो ।”

उनले अहिले कानुन व्यवसायीहरूसँग परामर्श गरिरहेको र आजै बिहान ११ बजे सचिवालयमा विरोध दर्ता गर्ने तयारी गरेको बताइन् । “अब हामी चुप लाग्दैनौँ । संसद्लाई अनिर्णयको बन्दी बनाउन मिल्दैन,” उनले भनिन् ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहका ४५ जना प्रदेश सांसद्ले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यो प्रस्तावमाथि अहिलेसम्म छलफल हुन सकेको छैन ।-बाह्रखरी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*