माधवराज सुमार्गी स्मृति कोषद्वारा निर्मित ‘सामुदायिक भवन’ थाहा नगरलाई हस्तान्तरण

बाइलाइन नेपाल
२ फाल्गुन २०७७, आईतवार १३:२९

माधवराज सुमार्गी स्मृति कोषले निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रमबीच मकवानपुरको थाहा नगरपालिका-६ बज्रबाराहीमा कोषका अध्यक्ष अजेयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेका हुन्।

०७२ को भूकम्पपश्चात् कोषले भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको निरन्तरता दिँदै कोषले उक्त भवन निर्माण गरेको हो। हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष सुमार्गीले भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए।

‘भूकम्पले निम्त्याएको विपत्तिलाई सहजरूपले समाधान गर्न कोषले सानो काम गरेको मात्र हो’, सुमार्गीले भने, ‘विपत्तिले जन्माएको समस्या समाधान गर्न समुदायसँग हातेमालो गर्नु आजको आवश्यकता रहेको छ। यो भवन निर्माण यसैको निरन्तरता हो।’

अध्यक्ष सुमार्गीले कार्यक्रममा थाहा अभियानका अभियन्ता रूपचन्द्र विष्टको अभियानलाई आफूले स्मरण गरिरहेको बताए। ‘ विष्टले ढुंगा फुटालेर विकास घर निर्माणको थालनी गर्नुभएको हो। उहाँले समाज रुपान्तरणमा गरेको योगदान समाजका लागि अनुकरणीय रहेको छ’, सुमार्गीले भने, ‘विष्टको दर्शन, राजनीति र योगदानको म अनुयायी हुँ।’

भवन कोषले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेपछि यो समुदायको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्न पनि समुदायको कर्तव्य रहेको सुमार्गीको भनाइ थियो। ‘यो भवन हामी सबैको साझा सम्पत्ति हो। यसको संरक्षण गर्नु पनि हाम्रो कर्तव्य हो।’

कार्यक्रममा राष्ट्रियसभा सदस्‍य रामनारायण बिडारीले असल समाजको निर्माणमा समुदायका व्यक्ति नै मुख्य हुने बताए। जीवन्त इतिहास समयको कालक्रममा हुने असल कामबाट निर्माण हुने बिडारीले उल्लेख गरे। ‘यो मेरो आफू जन्मिएको गाउँ हो। आज इतिहासका जिउँदा नायक विष्टको गाउँमा भएको प्रशंसनीय कामले म प्रफुलित भएको छु’, बिडारीले भने।

भवन निर्माण र निर्माण सम्पन्न भए पनि हस्तान्तरण गर्ने दुवै पक्ष नै विष्टका शिष्य रहेको भन्दै बिडारीले यो आफैँमा एक ऐतिहासिक दिन रहेको बताए। यस्तै, कार्यक्रममा नगरप्रमुख विष्टले विकास भवनको संरक्षण र संम्बर्द्धनमा आवश्यकता हेरी नगरपालिकाले आवश्यक काम गर्ने बताए। उनले भवन निर्माण गरेको लामो समय भएको र औपचारिक रूपमा हस्तान्तरण कार्य ढिलाइ भए पनि कोरोना संक्रमणको समयमा भवनलाई क्वारेन्टाइनस्थल बनाएर भवनको उपयोगमा ल्याइएको बताए।

‘कोरोनाका बेलामा क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे हामी चिन्तित थियौँ। यो भवनको निर्माण भएपछि यहाँ नै हामीले उपयोगमा ल्याएका थियौं’, नगरप्रमुख विष्टले भने, ‘गाउँमा हुने धार्मिक कार्य तथा सामाजिक काम गर्न पनि भवनले महत्वपूर्ण योगदान दिएको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*