बकैया गाउँपालिकाका सबै वडामा सडक

बाइलाइन नेपाल
२३ माघ २०७७, शुक्रबार १७:३४

क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिकामध्ये एक मकवानपुरको बकैया गाउँपालिकाले सबै वडामा सडक पुर्‍याएको छ । स्थानीय तह बन्नुअघि सडक नपुगेको स्थानमा पनि गाउँपालिकाले ३ वर्षभित्र साना र ठूला गरी ५ सय किलोमिटर सडक निर्माण गर्दै सबै वडामा सडक पुर्‍याएको हो ।

३ सय ९३ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बकैया गाउँपालिकाको १२ वटा वडा छ । ती सबै वडामा चालू आर्थिक वर्ष २०७७/७८ मा सडक पुगेको हो ।

मकवानपुरको बकैया गाउँपालिका देशकै ठूलो गाउँपालिका हो । १२ वटा वडा रहेको यस गाउँपालिकामा सरकार बनेसँगै ३ वर्षभित्रै हरेक वडासम्म सडक र सबै वडा कार्यालयको आफ्नै भवन बनाउने योजना बुनेको थियो ।

योजनाअनुसार नै गाउँपालिकाले ३ वर्षको अवधिमा २ सय किलोमिटर मूल सडक निर्माण गरेको छ । करिब ३ सय किलोमिटर शाखा सडक निर्माण गरेको छ ।

बर्खामा सडक बिग्रिएपछि गाउँपालिकाले तत्काल मर्मतसम्भार गरेर सुचारु गराउँदै आएको गाउँपालिका कार्यालयले जनाएको छ । विकट सबै वडामा कच्ची सडक पुगेको गाउँपालिकाले बताएको छ ।

यस्तै, गाउँकै विकट मानिने ठिंगन-हात्तीसुँढे, जुरेली-ठिंगन, भीरकोट सडक खण्ड, शिरपुर-रतनपुर सडकको ट्रयाक खोलिएको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।

गाउँपालिकाबासीलाई सुरुका वर्षमा सडक नहुँदा पालिका केन्द्र आउन समस्या थियो । सडक नहुँदा पैदल हुँदै गाउँपालिका केन्द्र आउनुपर्ने गाउँबासीको बाध्यता भने अब हटेको छ । पैदल यात्रा गर्दै आउँदा गाउँपालिका केन्द्रस्थित हात्तीसुँढेमा बास बस्नुपर्ने समस्या पनि स्थानीयले भोगेका छन् ।

सडक बनेपछि स्थानीयलाई एम्बुलेन्स सेवादेखि तरकारी उत्पादन गरेर स्वरोजगार बन्न पनि मद्दत पुगेको स्थानीय सरस्वती थिङको भनाइ छ ।गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ६५ करोड १९ लाख ६९ हजार २ सय ३० रुपैयाँको अनुमानित बजेट पेस गरेको थियो । त्यसमध्ये सडकमा खर्च गरेर सबै वडालाई सडक सञ्जालसँग जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*