मकवानपुरमा एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास

बाइलाइन नेपाल
२० माघ २०७७, मंगलवार २०:३१

मकवानपुरमा मंगलबार एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चारवटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो।

मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिस्टुङ स्वास्थ्यचौकीको १० कोठे, राक्सिराङ गाउँपालिका–८ स्थित खैराङ स्वास्थ्यचौकीको २२ कोठे, बकैया गाउँपालिका-२ स्थित धिँयाल स्वास्थ्यचौकीको नौ कोठे र भीमफेदी गाउँपालिका–३ स्थित निबुवाटार स्वास्थ्यचौकीको नौ कोठे भवनको शिलान्यास गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का इञ्जिनीयर रविन पाठकले जानकारी दिए।

स्वास्थ्यचौकीको भवन राष्ट्रिय सभाका सदस्य र स्थानीय सरकारका प्रमुखले शिलान्यास गरेका हुन्। टिस्टुङ स्वास्थ्यचौकीको भवन राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, खैराङ स्वास्थ्यचौकीको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धिँयाल स्वास्थ्यचौकीको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटार स्वास्थ्यचौकी भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गरे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत ठेक्का प्रक्रियाबाट स्वास्थ्यचौकी भवन निर्माण गर्न लागिएको हो। टिस्टुङ र खैराङ स्वास्थ्यचौकी भवन १८ महिनाभित्र तथा धिँयाल र निबुवाटार स्वास्थ्यचौकीको भवन १५ महिनाभित्र सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ।

एकाइका अनुसार ४ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि १० करोड ४९ लाख ८२ हजार ८२१ मा ठेक्का भएको जिल्ला भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ।

यसअघि कार्यालयले मकवानपुरमा पाँचवटा स्वास्थ्यचौकीको भवन पुनर्निर्माणको लागि ठेक्का सम्झौता गरेर निर्माण कार्य गरिरहेको छ। पहिलो चरणमा निर्माण सुरु गरिएका स्वास्थ्य संस्थाका भवनमध्ये बाग्मती गाउँपालिकाको बेतिनी स्वास्थ्यचौकी भवन सम्पन्न भएर हस्तान्तरण भइसकेको छ। मकवानपुरमा नौवटा स्वास्थ्य संस्था भवन निर्माणका लागि कूल २३ करोड रूपैयाँ प्राप्त भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*