सरकार ढल्ने भएपछि एकाएक स्थगित गरियो वाग्मती प्रदेशसभा बैठक

बाइलाइन नेपाल
१९ माघ २०७७, सोमबार ०९:५३

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक आज माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएपनि एकाएक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारण भन्दै बैठक स्थगित गरिएको हो ।

मिति २०७७ माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले स्थगित गरिएको र मिति २०७७ फागुन ५ गते दिनको २ बजे बस्ने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यसूचि रहेको थियो । तर बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा बहुमत पुग्नेभएपछि स्थगित गरिएको स्रोतले जनाएको छ । नेपाल ओली समूहका मुख्यमन्त्री पौडेलको सरकार ढल्ने भएपछि त्यसलाई रोक्न बैठक स्थगित गरिएको जनाइएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाका दाहाल–नेपाल समूह र नेपाली काँग्रेस बीच सहकार्य हुने र पौडेल नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेपछि बैठक स्थगित गरेर सरकार कसरी जोगाउन सकिन्छ भन्ने दौडमा लागेको छ । यसअघि पनि मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले सबै पक्षसँग सल्लाह नगरी बैठक एकतर्फी रुपमा स्थगित गरेकोमा नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आपत्ति जनाएको छ । सो पक्षका नेता अरुण नेपालले सल्लाह नगरी बैठक स्थगित गर्दा राम्रो सन्देश नगएको बताए ।

प्रचण्ड माधव पक्षधर अर्का नेता शालिकराम जमरकट्टेलले प्रदेशसभा बैठक सल्लाह नगरी सारिनु अल्मपतको सरकारको ज्यादती भन्दै यसको शशक्त प्रतिवाद गर्ने बताए । उनले सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोपसमेत लगाए ।

जमरकट्टेलले  भने ‘एकतर्फी रुपमा बैठक स्थगित गरिएको छ । यो भनेको अल्पमतको सरकारको ज्यादती हो । हामी यसको विरोधमा प्रदेशसभामै गएर कार्यक्रम गर्ने तयारीमा छौं । अविश्वास प्रस्तावमाथि छलफल भएर चाँडो टुंगो लगाइनुपर्छ ।’

प्रदेशसभाको अघिल्लो बैठकमा अविश्वासको प्रस्ताव दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको बताएका थिए । उनले पौडेललाई पदमुक्त गरि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*