नेकपा विवादः नेता एकलाल श्रेष्ठसहितलाई पार्टीबाट निष्काशन

बाइलाइन नेपाल
१७ माघ २०७७, शनिबार १९:५९

हेटौंडा । नेकपामा विवाद चुलिदै जाँदा केन्द्रदेखि जिल्ला हुँदै पालिकासम्म एक समूहले अर्को समूहलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको छ । पार्टीमा आएको विभाजनसँगै एकले अर्कालाई पार्टीको नीति र सिद्धान्त विपरीत काम गरेको भन्दै कारबाही गर्ने शिलशिला कायमै छ ।

यसैक्रममा आज नेकपा मकवानपुरको बहुमत समूह (दाहाल–नेपाल) को बैठकले पार्टीको विधान,सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले पार्टीका कार्यालय सदस्य एकलाल श्रेष्ठसहितलाई कारबाही गर्ने निर्णय गरेको हो । केही दिन अघि नेकपा ओली समूहका मकवानपुर संयोजक बनेका श्रेष्ठलाई दाहाल नेपाल समूहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

बैठकले पार्टी सचिवालय सदस्य लालबहादुर थापा, नगर सचिवालय सदस्य शालिकराम पुडासैनी, नगर सदस्य बोलबहादुर कार्की, राक्सिराङ गाउँपालिकाका पार्टी सचिव ओम स्याङ्तान, मनहरी गाउँपालिकाका पार्टी सचिव हेमलाल उप्रेती, कैलाश गाउँपालिकाका पार्टी अध्यक्ष बुद्धिबहादुर मोक्तानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको नेकपा मकवानपुरका सचिवालय सदस्य तथा संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए । कारबाही गरिएका थापा ओली समूहका जिल्ला सचिव, पुडासैनी नगर अध्यक्ष र कार्की नगर सचिव भएका छन् ।

बैठकले श्रेष्ठसहित ७ जनाले पार्टीको विधान, सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै पार्टीको विधानको धारा ५६ को उपधारा (क) को १,२ र ३ बमोजिम कारबाही गरिएको पाख्रिनले बताए । उक्त उपधारामा पार्टीको सिद्धान्त, नीति विपरीत काम गरेमा, पार्टी भित्र गुटबन्दी, षडयन्त्र गरेमा, पार्टी निर्णय उल्घन गरेमा कारबाही गर्न सक्ने उल्लेख छ ।

यसैगरी, बैठकले पार्टीको विभिन्न स्थानमा नयाँ जिम्मेवारी पनि दिने निर्णय गरेको छ । जसमा भीमफेदी गाउँपालिकाको पार्टी अध्यक्षको जिम्मेवारी प्रकाश पुडासैनीलाई दिने निर्णय गरेको नेता पािख्रनले बताए । उनका अनुसार राक्सिराङ गाउँपालिकाको पार्टी सचिवमा ज्ञानेन्द्र थोकर, मनहरी गाउँपालिकाको पार्टी सचिवमा नारायण श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेको आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा, केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव प्रेमबहादुर पुलामी, विष्णु विष्ट, प्रदेश सदस्य ओम घलान, सर्केश घलान, ललित घलानलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*