वाग्मती प्रदेशको ९ जिल्लामा कोरोना भाइरसविरुद्धको खोप

बाइलाइन नेपाल
१४ माघ २०७७, बुधबार १९:२७

हेटौंडा । वाग्मती प्रदेशले ९ जिल्लालाई ७६ हजार डोज कोभिसिल्ड कोरोना खोप वितरण गरेको छ । हेटौंडास्थित वाग्मती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्राप्त गरेको ७ हजार ६ सय भाइल अर्थात् ७६ हजार डोज खोप सोमबारदेखि जिल्लामा वितरण सुरु गरेको छ । खोप पाएका जिल्लाले बुधबारदेखि खोप लगाउन सुरु गरिसकेका छन् ।

प्रदेश राजधानी हेटौंडाबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठ र स्वास्थ्य निरीक्षक भोला चौलागाईंलाई खोप हस्तान्तरण गरे । अस्पतालका मेसु श्रेष्ठले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै अभियान सुरु गरे ।

वाग्मती प्रदेशका १३ मध्ये ३ वटा जिल्लालाई खोप वितरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । यसैगरी केन्द्रले प्रदेश २ का ६ वटा जिल्लालाई पनि खोप वितरण गरेको अधिकारीले बताए ।

केन्द्रबाट बागमतीको मकवानपुर, चितवन, सिन्धुलीमा खोप पठाइएको हो । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई खोप दिइएको छ ।

केन्द्रले पठाएका खोप सम्बन्धित स्वास्थ्य कार्यालयले आफ्नो स्टोरमा सुरक्षितसहित राख्ने अधिकारी बताउँछन् । उनका अनुसार सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयले तोकिएको मितिमा खोप लगाउनेछन् । ‘मंगलबार केन्द्रलाई तोकिएको सबै जिल्लामा खोप पुगिसकेको छ’, अधिकारीले भने ।

केन्द्रका अनुसार मकवानपुरमा ४ सय १८, सिन्धुलीमा २ सय ९९, चितवनमा ८ सय ५७ भाइल खोप पठाइएको हो । बारामा ५ सय ३२, पर्सामा १ हजार १ सय ४, रौतहटमा ८ सय १, सर्लाहीमा १ हजार ५९, महोत्तरीमा ४ सय ६ र धनुषामा २ हजार ३ भाइल खोप पठाइएको अधिकारीले बताए । खोप स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा लगाइने केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*