बागमती प्रदेशमा अनियमित ढंगले १२ करोडको सामान खरिद, लेखाद्वारा कारवाहीको सिफारिस

बाइलाइन नेपाल
९ माघ २०७७, शुक्रबार १६:५७

हेटौंडा । बागमती प्रदेशमा अनियमित ढंगले १२ करोड रुपैंयाको सामान खरिद भएको भन्दै कारवाहीको सिफारिस गरिएको छ ।

महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७५ ले औल्याएका खरिद अनियमिततामाथि छानविन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले खरिद अध्ययन तथा अनुगमन उपसमिति गठन गरेको थियो । उपसमितिले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठलाई बुझाएको हो ।

प्रतिवेदनमा सार्वजनिक खरिद ऐनलाई अवलम्बन नगरी सोझै १२ करोड रुपैंयाका गाडि, मेसिनरी सामान, फर्निचर र मसलन्द खरिद गरेको उल्लेख छ । प्रतिवेदनमा सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले गाडि खरिद गर्दा सार्वजनिक खरिद ऐनको प्रक्रिया मिचेर अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरुलाई कानूनी कारवाही गर्न सिफारिस गर्न उपसमितिले लेखासमितिलाई प्रतिवेदन बुझाएको संयोजक प्रभात तामाङले जानकारी थिए । उपसमितिमा संयोजक प्रभात तामाङ र सदस्यहरुमा रमेश पौड्याल, मुनु सिग्देल, ओम ग्लान र रिता माझी रहेका थिए ।

उपसमितिले कोरोना संक्रमणका कारण अध्ययनमा समय लागेकाले गठन भएको करिब १० महिना पछि प्रतिवेदन बुझाएको छ । प्राप्त प्रतिवेदनलाई आगामी बैठकबाट अनुमोदन गरिने सभापति श्रेष्ठले जानकारी दिए । उपसमितिले औल्याएका अनियमिततामा संलग्नलाई कारवाही र आगामी दिनमा यस्ता गतिविधि नहुनेतर्फ सचेत रहन सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए ।-साभारः प्रष्टखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*